नयाँ दिल्ली– भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ।
भारतको मध्य प्रदेशमा ट्याक्टर र जीप एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा परी मृत्यु हुनेमा ५ जना महिला रहेका छन्।
मध्य प्रदेशको राजधानी भोपालदेखि ४ सय ५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाँउमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।
स्थानीय प्रहरी प्रमुख अमित साङघीले सञ्चार माध्यमहरूलाई दिएको जानकारी अनुसार पारिवारिक कामका लागि २० जना जीपमा सवार थिए। विपरित दिशाबाट आएको ट्याक्टरले स्थानीय समय अनुसार बिहान ५ः३० मा जीपलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परेको जीप पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो। अन्य तीन जनालाई उपचारका लागि अस्पताल लगिएपछि मृत्यु भएको घोषणा गरिएको अस्पतालका अधिकारीहरूले जनाएका छन्।
‘घटनामा परी अन्य ५ जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ।,’ एक स्वास्थ्यकर्मीले भने। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्नसक्ने स्वास्थ्य अधिकारीहरूले अनुमान गरेका छन्। घाइते अधिकांशलाई टाउकोमा चोट लागेकाले सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ ।
मध्य प्रदेशका स्वास्थ्य मन्त्री रुस्टम सिंहले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेका छन्। उनले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिँदै घटनाका बारेमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
भारत विश्वमै धेरै सवारी दुर्घटना हुने मुलुकमा पर्दछ। चालकको लापर्वाही, सडकको खराब अवस्था र सही अवस्थामा नरहेका सवारी साधनहरू सञ्चालन गरिने भएकाले दुर्घटना धेरै हुने गरेको बताइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।