काठमाडौं- धरहरा पुनर्निर्माणका लागि ६ कम्पनीको आवेदन परेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा महाशाखा प्रमुख राजुमान मानन्धरका अनुसार एक महिनाको अवधि दिएर माग गरिएको आवेदनमा ती ६ कम्पनीले धरहरा निर्माणका लागि इच्छा व्यक्त गर्दै आवेदन दिएका हुन्।
प्राधिकरणले गत ३० बैसाखमा धरहरा पुनर्निर्माणका लागि सार्वजनिक बोलपत्र आह्वान गरेको थियो।
महाशाखा प्रमुख मानन्धरका अनुसार आवेदन दिने ६ वटै कम्पनीले ‘जोइन्ट भेन्चर’मा बोलपत्र पेस गरेका छन्। सबै कम्पनीले चिनीयाँ कम्पनीसँगको सहकार्यमा बोलपत्र दिएका हुन्। ती कम्पनीको नाम भने प्राधिकरणले गोप्य राखेको छ।
‘अबको एक साताभित्र दर्ता भएका बोलपत्रको मूल्याङ्कन सुरु हुन्छ,’ मानन्धरले भने, 'यही असारभित्र धरहराको निर्माण सुरु हुनेछ।' बोलपत्रको मूल्याङ्कन भएपछि एक साताभित्र त्यसको जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा ‘म बनाउँछु मेरो धरहरा’ अभियानको घोषणा गरेका थिए। उक्त घोषणाअनुसार धरहरा पुनर्निर्माणका लागि कोष नै खडा गरिएको थियो। उक्त कोषमा हाल करिब २४ करोड रुपैयाँ जम्मा भएको छ। उक्त रकम रहेको कोष सक्रिय गराउने प्रक्रिया पनि प्राधिकरणले सुरु गरेको छ।
भूकम्पको तेस्रो वार्षिकीको अवसरमा गत १२ बैसाखमा प्रधानमन्त्री ओलीले धरहराको भग्नावशेषमाथि उभिएर तत्काल पुनर्निर्माण अघि बढाउने घोषणा गरेका थिए।
धरहराको डिजाइन यसअघि नै प्राधिकरणले सार्वजनिक गरिसकेको छ। नयाँ बन्ने धरहरा २२ तलाको बन्नेछ भने मोटाइ पनि साबिकको भन्दा ठूलो हुनेछ। नयाँ धरहरामा पहिलेकै झैं भर्याङसहित ‘लिफ्ट’ पनि हुनेछ।
आगामी २ वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य प्राधिकरणको छ। पुनर्निर्माणका लागि करिब ४ अर्ब लाग्ने अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।