राजविराज– बेवारिसे अवस्थामा फेला परेकी एक सुस्त महिला सप्तरीमा अलपत्र परेकी छिन्। दुई साता बितिसक्दा पनि आफन्तको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
रुपनी–राजविराज सडक खण्डमा फेला परेकी करिब २५ वर्षिया महिला हाल जिल्ला प्रहरी कार्यालयको संरक्षण छिन्। तर, स्थान अभाव, हेरविचार गर्ने जनशक्ति र स्वास्थ्य अवस्थाका कारण महिलालाई राख्न समस्या भएको प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले बताइन्। ‘मानसिक अवस्था सुस्त छ, जतिसक्दो चाँडो उपचारको खाँचो छ,’ उनले भनिन्, ‘तर आफन्तको पहिचान हुन नसक्दा अवस्था जटिल बन्दै गएको छ ।’
'३/४ महिनाअघिसम्म यस्ता काम सेफ हाउसले गर्ने गर्थ्यो,' उनले भनिन्, 'नयाँ संरचनामा महिला तथा बालबालिका कार्यालय अस्तित्वमा नरहेपछि सेफ हाउसको सेवा पनि बन्द हुँदा जिम्मेवारी प्रहरीलाई नै थपियो।’
यसअघि सेफ हाउसले गर्ने काम पछिल्लो समय प्रहरीले गर्नुपरेपछि नागरिकको सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत बाधा उत्पन्न भइरहेको सप्तरीका एसपी मुकेशकुमार सिंह बताउँछन्।
नागरिक 8का कार्यबाहक अध्यक्ष थानसिंह भन्सालीले अलपत्र अवस्थामा परेकी महिलालाई आफन्तको जिम्मा लगाउने तथा त्यस्ता महिलाको संरक्षणका लागि सेफ हाउसको सेवा पुनः सुचारु गर्ने काममा सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।