काठमाडौं– मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर करिब अर्बौ ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ लगायत अन्य स्वास्थ्य व्यवसायी विरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले पनि उच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ।
पक्राउ परेका व्यवसायीलाई धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौं र ललितपुरको आदेश त्रुटिपूर्ण भएको दावी गर्दै मञ्चले बिहीबार १७ नम्बर निवेदन दर्ता गराएको हो। तल्लो अदालतको आदेश चित्त नबुझेमा माथिल्लो अदालतमा दिइने निवेदनलाई १७ नम्बर निवेदन भनिन्छ।
जिल्ला अदालतको आदेश विरुद्ध सरकारी पक्षबाट पुनरावेदन गर्ने तयारी भइरहेको समयमा उपभोक्ताको तर्फबाट मञ्चले निवेदन दिएको हो।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र ललितपुरले उच्च अदालतमा १७ नम्बर निवेदन दर्ताका लागि बुधबार उच्च सरकारी वकिलको कार्यालयमा त्यस सम्बन्धी फाइल पठाएका छन्।
श्रेष्ठसहित पक्राउ परेका स्वास्थ्य व्यवसायीहरुलाई थुनामै राखेर मुद्दा अगाडि बढाउनुपर्ने मागसहित उच्च अदालतमा १७ नम्बर निवेदन दर्ता गर्न लागेको हो।
श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले १० लाख तथा ललितपुर जिल्ला अदालतले १२ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। पक्राउ परेका अन्य ४० जना व्यवसायी पनि धरौटीमा छुटिसकेका छन्।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर करिब ५ अर्ब रुपैयाँ ठगी भएको देखिएपछि त्यस सम्बद्ध व्यवसायीहरुलाई पक्राउ गरिएको थियो।
सो ठगी मुद्दाको अनुसन्धानमा चलखेल भएको र अदालतमा समेत चलखेल भएको चर्चा चलिरहेको छ। यो प्रकरणमा न्यायधीशको आदेशबारे छानबिन हुने कानुनमन्त्री शेरबहादुर तामाङले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।