बेइजिङ– चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरेका छन्।
नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहेका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानसहित चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूतको सहभागिता थियो।
उद्घाटनअघि प्रधानमन्त्री ओलीसँग चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानले वार्ता गरेका थिए। सो अवसरमा उनले खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न सकिने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका खेलकुदमा दुई देशबीच सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि दुई देशका सम्बिन्धित निकायलाई त्यसतर्फ अघि बढाउने बताए। प्रतियोगितामा नेपाल र चीनका गरी तीन दर्जनभन्दा बढी युवा सहभागी थिए।
संग्रहालयको अवलोकन
प्रधानमन्त्री ओलीले बिहीबार चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरेका छन्।
सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गरेका हुन्। संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास भल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् ।
अवलोकनका क्रममा उनकी धर्मपत्नी राधिका शाक्यसहित भ्रमणदलमा सहभागी मन्त्रीहरु, सांसद र सरकारी उच्च अधिकारीको सहभागिता थियो। यस संग्रहालयमा कम्युनिष्ट नेताले आफ्ना कार्यकर्तालाई कसरी अनुशासित गर्ने तथा पार्टीका बारेमा कसरी प्रशिक्षित गर्ने भन्ने कुरा झल्काइएको छ ।
पार्टीको संगठनका विषयमा कुन विषय सही र कुन गलत हो भन्ने विषयबारे जानकारी गराइनेबारे तस्बिर तथा यहाँ संग्रृहीत वस्तुले जानकारी दिन्छ।
माओका विचारलाई अगाडि बढाउने र चिनियाँ विचार तथा शैलीसहितको 8वादको विकास कसरी गर्ने भन्ने विषयमा पनि यस संग्रहालयले जानकारी दिन्छ। प्रधानमन्त्री ओलीले पार्टी स्कुल विभागको आयोजनामा विकास र समृद्धिमा राजनीतिक दलको भूमिका विषयमा प्रवचन दिँदैछन्। आजै चीनका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।