काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको अन्तिम श्रम स्वीकृति खुल्ला गर्ने भएको छ। गत महिना मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्दै आएका विभिन्न संस्था खारेज गरेसँगै त्यहाँ रोजगारीमा जाने कामदारको अन्तिम र पूर्व श्रम स्वीकृति बन्द गरिएको थियो।
सवै प्रक्रिया पुरा गरि अन्तिम श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालय ताहाचलमा परेका निवेदनका आधारमा श्रम स्वीकृति जारी गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्रालयका अनुसार सम्भवत अाजै साे विषयमा निर्णय हुनसक्ने बताइएकाे छ।
मलेसिया जानुअघि मेडिकल, अभिमुखीकरण तालिम र अन्य प्रक्रिया पुरा भइ भिसा रोकिएका कामदारलाई मात्र अन्तिम श्रम स्वीकृति जारी गरिने स्रोतले जानकारी दिएको छ।
यसैबीच मलेसिया सरकारको आधिकारिक निर्णय नआएसम्म पूर्व श्रम स्वीकृति भने जारी नगरिने श्रोतको भनाइ छ। मलेसिया जाने कामदारलाई विभिन्न बाहानामा आर्थिक भार थप्ने ६ वटा संस्थालाई मन्त्रालयले गत महिना खारेज गर्ने निर्णय गरेको थियो। मन्त्रालयको निर्णयपछि रोजगारीमा कामदार मलेसिया जाने प्रक्रिया रोकिएको थियो।
गत महिना रोजगारीका लागि करिब १२ हजार युवा श्रम स्वीकृति लिएर मलेसिया गएका वैदेशिक रोजगार विभागको तथ्यांक छ। चालु आर्थिक वर्षको ११ महिनामा भने १ लाख ६० हजार युवा वैदेशिक रोजगारीमा मलेसिया पुगेका छन्।
बायोमेट्रिक, माइग्राम्स, भीएलएन, वानस्टप सेन्टर, ओएसीलगायत संस्थाले मलेसिया जाने कामदारसँग १८ हजारभन्दा धेरै रकम उठाउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।