दमक– अढाई दशकदेखि पूर्वी नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीको समस्या ९० प्रतिशत समाधान भइसकेको दावी गरिएको छ।
विश्व शरणार्थी अवलोकन दिवस—२०१८ को अवसर पारेर बुधबार झापाको दमकस्थित बेलडाँगी भुटानी शिविरमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल सरकार तथा दातृ संस्थाका अधिकारीले भुटानी शरणार्थी समस्या समाधान अन्तिम चरणमा पुगेको दावी गरेका हुन्।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भुटानी शरणार्थीको समस्या समाधान अन्तिम चरणमा पुगेको जानकारी दिँदै तेस्रो मुलुक स्थानान्तरण भएर बाँकी रहेका शरणार्थीका समस्या अझै ठूलो र गम्भीर रहेको औँल्याए। शिविरमा अहिले ७ हजारको हाराहारीमा शरणार्थी रहेका छन्। अन्य सबै शरणार्थी तेस्रो मुलुक पुनार्वास भइसकेका छन्।
नेपाल सरकारको शरणार्थी समन्वय एकाइका संयोजक रहेका प्रजिअ दाहालले भने,‘हरेक शरणार्थीको स्वदेश फिर्ती नै दीर्घकालीन समस्याको समाधान भएकाले यसमा सबै सरोकारवाला निकायले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्छ।’ दाहालले शरणार्थी रेखदेख गर्ने निकायलाई शरणार्थीलाई दिँदै आएको रासनपानी निरन्तर प्रदान गर्न अनुरोधसमेत गरे।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त कार्यालय, दमक शाखाकी प्रमुख अन्ना पेलोसीले संसारमा हरेक दुई सेकेण्डमा १ जना शरणार्थी बनिरहेको अवस्थामा सबै मिलेर यो समस्या समाधानमा पहल गर्नुपर्ने बताइन्।
पेलोसीले भुटानी शरणार्थी समस्या समाधानमा नेपाल सरकार र शरणार्थीले उच्च योगदान दिएको समेत स्मरण गर्दै सबैलाई धन्यवादसमेत दिइन्। ‘कसैलाई पनि पछाडि नछाडौँ शरणार्थीसँगै उभियौँ’ भन्ने लक्ष्यका साथ स्थानीय तथा शरणार्थी कसैलाई पछाडि नपारी सँगै लिएर जाने वातावरण बनाउन उनले आग्रहसमेत गरिन्।
पथरी–शनिश्चरे शिविरका शिविर सचिव चम्पासिंह राईको सभापतित्वमा भएको कार्यक्रममा बेलडाँगीका शिविर सचिव टीकाराम रसाइलीले शरणार्थीका लागि ५ बुँदे माग लामो समयदेखि नेपाल सरकारका जिम्मेवार निकाय र व्यक्तित्वलाई जानकारी गराएको भए पनि सुनवाइ नभएको गुनासो राखे। रसाइलीले भने,‘स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन, स्थानीयकरण, अन्तर्राष्ट्रियकरण र दर्ता छुटेका शरणार्थीको समस्या जिम्मेवार निकायले सुनिदिनु पर्छ।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।