काठमाडौं– त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न भएको आरोपमा नेपालका उच्च घरानियासँग सम्बन्ध भएका एक भारतीय व्यापारी पक्राउ परेका छन्। डिल्लीबजारस्थित सिल्भर सिटी अर्पाटमेन्टका मालिक विमल पोद्दारलाई ‘विशेष अनुसन्धान टोली’ले पक्राउ गरेको हो।
भारतीय नागरिक पोद्दारले नेपालका ठूला व्यावसायिक घरानासँग मिलेर काम गर्दै आएका थिए। उनले नेपालमा भाइ (जसको नेपाली नागरिकता छ)को नाममा करोडौंको लगानी गरेको स्रोत बताउँछ। उनलाई सुन तस्करी प्रकरणका ‘ठूला माछा’ ठानिएको छ। उनी तस्करी प्रकरणमा फरार रहेका मोहन अग्रवालका साथी समेत हुन्। मंगलबार डिल्लीबजारबाट पक्राउ गरिएका पोद्दारलाई बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिन थुनामा राख्ने म्याद लिई अनुसन्धान अगाडि बढाइएको विशेष अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेलले नेपाल लाइभलाई बताए।
स्रोतका अनुसार, फरार रहेका मोहन अग्रवालको घरमा छापा हानेपछि तस्करीमा पोद्दारको सम्बन्ध खुलेको हो। अग्रवालको आर्थिक कारोबारका आधारमा टोलीले अनुसन्धान गरिरहेको छ, जसमा केही चर्चित व्यक्ति समेत जोडिएको देखिएको स्रोत बताउँछ।
सिल्भर सिटी अपार्टमेन्टमा पोद्दारको ३३ प्रतिशत लगानी छ। एक अर्ब ३२ करोड लगानीमा निर्माण उक्त अपार्टमेन्टमा उनीसहित तीन व्यापारीको लगानी छ। अपार्टमेन्टमा राजकुमार गोडिया र दीपक मल्होत्राको पनि बराबर लगानी छ। मल्होत्रा आइएस ग्रुपका अध्यक्ष हुन्।
पोद्दारले सोही अपार्टमेन्टमा एकल लगानीमा एड्रेस लाउन्स रेस्टुरेन्ट पनि सञ्चालन गरेका छन्। उनले डेढ करोड रुपैयाँ लगानीमा सो रेस्टुरेन्ट खोलेका हुन्।
पोद्दारबाट सुन तस्करीमा लगानी गर्ने थप व्यक्तिहरुको सूचना मिल्न सक्ने अनुसन्धान टोलीका अधिकारीहरु बताउँछन्।
तस्कर समूहले पछिल्लो ५ वर्षमा विमानस्थलबाट ३८ सय किलो सुन भित्र्याएको थियो। जसमध्ये करिब ८० प्रतिशत सुन भारत पुर्याएको थियो। तस्करीमा भारतीय व्यापारीहरुको समेत संलग्नता देखिएको छ। कलकत्तामा बस्ने केही भारतीय व्यापारीको नाम खुलेको र उनीहरुको कुख्यात अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग समेत सम्बन्ध भएको हाल जेलमा रहेका चूडामणि उप्रेती ‘गोरे’ले अनुसन्धान टोलीसँग बताएका छन्।
यो पनि पढ्नुहोस्- ‘गोरे’को खुलासा– नेपालमा हुने सुन तस्करीमा दाउदको कनेक्सन
गत माघ ९ गते विमानस्थलबाट कर्मचारीको मिलेमतोमा तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सो सुन लुटेको आशंकामा गिरोहमै आबद्ध सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो। हत्या घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको उजुरीका आधारमा छानबिन गर्दा विमानस्थलबाट ५ वर्षदेखि एयरलाइन्सका कर्मचारीहरुसँगको मिलेमतोमा सुन तस्करी हुँदै आएको खुलेको थियो।
तस्करीमा सहयोग गरेको र सनम शाक्य हत्याको अनुसन्धानमा 'गोरे'लाई जोगाएको आरोपमा ९ प्रहरी विरुद्ध समेत मुद्दा दायर गरिएको छ। जसमध्ये ७ जना प्रहरी अधिकारी हाल पुर्पक्षका लागि जेलमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।