काठमाडौं– अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ४ वर्ष लगाएर ५ जना गुण्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्यो। अवैधानिक क्रियाकलापबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको भन्दै २०७० जेठ ५ मा विशेष अदालतमा करोडौं रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भयो।
मुद्दा दर्ता भएको ४ वर्षपछि विशेष अदालतले उक्त मुद्दामा फैसला सुनाउन थाल्यो। विशेषको अन्तिम फैसलामा ऐन जारी हुनुअघि उनीहरु विरुद्ध मुद्दा दायर भएको भन्दै एकपछि अर्को गरी सफाइ दिइएको छ। ५ मध्ये एक अभियुक्त गणेश लामाको मात्र विशेषमा सम्पत्ति शुद्धीकरण मुद्दा बाँकी रहेको छ। अरु सबैले उन्मुक्ति पाएका छन्।
सुरुमा विशेष अदातलले मनाङबाट प्रदेशसभामा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) लाई सफाइ दिएको थियो। मनाङे हाल ज्यान मार्ने उद्योगको मुद्दामा सजाय काटिरहेका छन्। उच्च अदालत पाटनको फैसला अनुसारको सजाय सर्वोच्चबाट ठहर हुनुअघि विशेषले मनाङेलाई सफाइ दिएको थियो। सिआइबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा मनाङेको नाममा १४ करोडभन्दा बढीको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको देखिएको दाबी गरिएको थियो। तर, विशेषले त्यसलाई पुष्टि गर्ने आधार नै नभएको भन्दै २०७४ भदौ ५ मा सफाइ दिने फैसला सुनायो।
एकैदिन मुद्दा खेपेका अन्य ४ जना गुण्डा नाइकेको अन्तिम सुनुवाइ चलिरहेको समयमा मनाङेले पहिलो सफाइ पाए।
मनाङेपछि उनीसँगै कुनै समयका सहयात्री र हालका दुस्मन चक्रे मिलनले सफाइ पाएका थिए। चक्रेले ८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी विभागको थियो।
चक्रे मिलनको नाममा काठमाडौंमा ७ आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो। उनलाई विशेषले माघ १० गते सफाई दिने फैसला सुनाएको हो।
चक्रे मिलनपछि अर्का गुण्डा नाइके पर्शुराम बस्नेतले सफाइ पाए। बस्नेतसँग विभागले ११ करोड बराबरको सम्पत्ति रहेको दाबी गरेको थियो। बस्नेतले श्रीमतीसँगै सहयोगी मुकेश बस्नेतको नाममा गुण्डागर्दीबाट आर्जन गरेको सम्पत्तिले मोरङमा ४२ रोपनी जग्गा, ३ वटा गाडी, एडजोन एडभर्टाइजिङ, पिआर हार्डवेयर, बगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवा लगायतमा लगानी गरेको विभागको आरोप पत्रमा दाबी गरिएको थियो। तर, विशेष अदालतले उनको सम्पत्ति शुद्धीकरण ऐन आउनुअघि आर्जन गरेको भन्दै सफाइ दिएको हो। विशेषले बस्नेतलाई चैत २५ गते सफाई दिने फैसला गरेको थियो।
अस्ति मंगलबार मात्रै अर्का प्रतिवादी अभिषेक गिरीले पनि सोही अभियोगमा सफाइ पाए। न्यायाधीशहरु बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलिले गिरीलाई सफाइ दिने फैसला सुनाएको हो। विभागले गुण्डा नाइके गिरीको नाममा २ करोड ९४ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरिएको सम्पत्ति रहेको दाबी गरेको थियो। व्यक्ति अपहरण गरेको अभियोगमा गिरी हाल थुनामा रहेका छन्।
लामाको मुद्दा फैसलाको तयारीमा
एकैदिन अभियोग खेपेका मध्ये गणेश लामाको मुद्दा मात्र फैसला हुन बाँकी रहेको छ।
विशेष अदालतमा उनको मुद्दा अन्तिम सुनुवाइको पालो कुरिरहेको छ। एकै अभियोगमा दर्ता भएका मुद्दामा अन्य अभियुक्तहरुले सफाइ पाएलगत्तै सोही नजिर लामाको हकमा पनि लागू हुने देखिन्छ।
विभागसँगको समन्वयमा सिआइबीले गरेको अनुसन्धानमा सबैको सम्पत्ति विवरणको गैरकानुनी भएको दाबी आरोपपत्रमा गरिएको थियो। विभाग र ब्युरोको संयुक्त अनुसन्धानमा लामाको सम्पत्तिको लामो फेहरिस्त देखिएको थियो। लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको दाबी आरोपपत्रमा छ। लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गाका साथै २७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको छ। क्रसर र निर्माण कम्पनीसमेत उनको सेयर रहेको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।