वासिङ्टन- संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट अगल हुने घोषणा गरेको छ। अमेरिकाले उक्त परिषदलाई राजनीतिक पूर्वाग्रह गरेको आरोप पनि लगाएको छ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले वासिङ्टनमा यो घोषणा गरेकी हुन्।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओको राय बमोजिम नै यो निर्णय गरिएको पनि बताएकी छन्।
केही विदेशी स्वार्थी राष्ट्र वा व्यक्तिले आफनै सेवागर्ने निकायको रुपमा यसलाई प्रयोग गर्दै आएकाले पनि उक्त परिषदबाट अमेरिकाले निस्किने निर्णयमा पुगेको राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताइन्।
आफ्ना र आफू्ले गरेका मानवअधिकार उल्लङ्घनका घटना लुकाउन यो परिषद् खोलेको समेत उनले आरोप लगाइन्।
राष्ट्रसंघको मानवअधिकार परिषद् गतवर्ष इजरायलप्रति सधैँ पूर्वाग्रही भएको आरोप लगाउँदै अमेरिकाले सो परिषद्को सदस्यता नवीकरणको लागि आगामी दिनमा विचार गर्ने पनि बताएको छ।
जेनेभामा सन् २००६ मा गठन भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले मानवअधिकारको अवस्थाबारे प्रश्न उठाउन मिल्ने मुलुकहरूलाई पनि आफ्नो सदस्य बन्न दिएको आरोप अमेरिकाले विगतदेखि नै लगाउँदै आएको थियो।
राजदूत हेलीले वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा मानवअधिकार परिषद्बाट अलग हुने अमेरिकी निर्णयबारे जानकारी दिएकी हुन्।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले आफ्ना प्रवक्तामार्फत जारी गरेको एक प्रेस वक्तव्यमा अमेरिका मानवअधिकार परिषदबाट बाहिर निस्किन नहुने बताएका छन्। उनले यस्तो संवेदनशील परिषद्बाट अमेरिका बाहिर नजाओस् भन्ने आफ्नो चाहना रहेको पनि बताएका छन्।
उता इजरायलले भने अमेरिकाको उक्त निर्णयको स्वागत गरेको बताइएको छ। इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी अमेरिकाले उक्त परिषद्बाट अलग हुनेगरी गरेको निर्णयको स्वागत गरेको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।