छेउको भित्तामा सुमधुर मुस्कानसहित प्रख्यात डाक्टर साबको त्यो फोटो अनि त्यसको छेउमा उहाँको पार्थिव शरीर। कल्पना नै गर्न कठिन, तर के गर्ने मृत्यु एक अटल सत्य, जसलाई कसैले रोक्न सक्दो रहनेछ।
आदरणीय गुरुआमा,
म तपाईको पीडा जस्ताको त्यस्तै त महसुस त गर्न सक्दिनँ तर डाक्टर साबले नयाँ दिमाग र नयाँ जीवन दिनुभएका शोकसभामा उपस्थित उहाँका बिरामी भक्कानिएर रोएको देख्दा मलाई पनि आत्मबोध भइरहेको थियो कि साँच्चैको महान् व्यक्तिहरुको देहान्तले परिवार मात्र होइन सारा देशलाई नै दुःखी तुल्याउँदो रहेछ। ठूलाठूला गाडी र त्यसमा आएका विशिष्ट व्यक्तिहरुको उपस्थितिले उहाँको योगदानलाई प्रत्यक्ष रुपमा प्रतिबिम्बित गरिरहेको थियो।
झन्डै एक वर्षदेखि तपाईं जीवनका एकदमै हृदयविदारक क्षणहरुबाट गुज्रिरहनुभएको कुरा सबैलाई जगजाहेरै छ। कति थकित र कति हतास हुनुभएको छ भन्ने कुरा म तपाईंको मुहारमा प्रष्ट देखिरहेको थिएँ। किनकि पति वा पत्नीको विछोड संसारको सबैभन्दा ठूलो पीडादायक घटनामध्येको एक हो भनी तपार्इंले नै मलाई कक्षामा पढाउनुभएको थियो।
गुरुआमा,
बिहानको शोकसभाको लाइनमा म उभिरहँदा तपाईं र तपाईंका छोरीहरुको पीडामात्र होइन, म सबैको मुहारमा भएको साहस समेत देखिरहेको थिएँ जुन साहसले डाक्टर साबका पथहरु पन्छ्याउँदै उहाँले सुरु गरेका नौला आयामलाई बिस्तार गर्ने बाटो खोज्ने ठूलो सम्भावना बोकेको छ।
हो यो एकदमै दुःख र पीडाको समय हो तर तपाईंहरू दुःखी होइन साहसी र निडर बन्नुपर्छ। डाक्टर साबले बचाएका कैयौं दिमाग र ज्यानहरुले देशका विभिन्न क्षेत्रमा दिएको योगदानलाई सम्झेर अझ बढी जिम्मेवार हुनुपर्छ। उहाँले कमाएको सिद्धीलाई कायम राख्न दत्तचित्त भएर लाग्नुपर्छ। हो, उहाँको अभाव सदैव न्यूरो क्षेत्रले महसुुस गरिरहनेछ। तर त्यो कमी हुन नदिन तपाईंका पथहरु सधै अग्रसर भइरहनुपर्नेछ।
बेलायतको सुखसुविधा छाडेर आफ्नै जन्मभूमिमा योगदान दिने डाक्टर साबको त्यो देशभक्तिको चाहना मृत्युशैय्यामा पनि झल्किएको कुरा तपाईंका लागि सदैव मार्गनिर्देशक भईरहनुपर्छ, देश र जनताको स्वास्थ्य सुधारतर्फ।
गुरुआमा,
करिब ७ वर्षपहिला तपाईंको शिष्य भइरहँदाका क्षण सम्झँदा तपाईसँग भएको क्षमतालाई प्रत्यक्ष रुपमा बोध गरेको छु मैले। तपाईंले अहिलेको शोकलाई शक्तिमा बदल्नुपर्छ र देश र जनताको स्वास्थ्य सुधारका लागि तपाईले चालिरहनुभएका आफ्ना कदम अझ सशक्त र योजनाबद्ध रुपले अगाडि बढाउनुुपर्छ।
छोरीहरुलाई बाबाको कमी महसुस हुन नदिने मात्र होइन उनीहरुलाई बाबाका अधुरा सपना पुरा गर्न सधैं उत्प्रेरित गरिरहनुपर्छ। काठमाडौंमा मात्र सीमित डाक्टर साबको न्यूरो अस्पताललाई अझ बढी व्यवस्थित र आम समुदायमा पहुँच योग्य पार्नुपर्छ। देशभरि न्यूरोका सन्तानहरु विस्तारको योजना बनाउनुपर्छ। देवकोटा जस्ता डाक्टरसाबहरु अझै बढी उत्पादन गर्नका लागि पहलकदमी चाल्नुपर्छ।
एकदमै महँगो र जटिल मानिएको टाउकाको शल्यक्रियालाई जनतासमक्ष सहज पार्न भूमिका खेल्ने पालो अब तपार्इंको हो। तपाईको नेतृत्व अनि ३ जना छोरीहरुको साथले पक्कै पनि डाक्टर साबका इच्छा र कल्पनालाई मूर्त रुप दिन एकदिन सफल भएर छोड्नेछ।
यी सबै कार्यले डाक्टरसाबलाई थुप्रै पुस्ताहरुमा जीवन्त राख्न लागि मद्दत पुगिरहनेछ।
शोकलाई शक्तिमा परिणत गर्ने साहस प्रदान गर्न भगवान् पशुपतिनाथसँग मेरो कामना।
तपाईंको शिष्य
मुकेश अधिकारी
हाल : स्वास्थ्य सेवा विभाग
टेकु, काठमाडौं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।