पोखरा– सत्तापक्ष नेकपाका सांसद विनोद केसीलाई बुधबारको विनियोजन बैठकमा कुरा राख्न अगाडि बोलाइयो। उनलाई कार्यवाहक सभामुख सिर्जना शर्माले ५ मिनेटको समय छुट्याएकी थिइन्।
सांसद केसीले बोल्ने क्रममा बजेट विनियोजनप्रति व्यंग्य गरे, ‘कोहीलाई भने दहीमा चिनी, कोहीलाई भने पानी’नि नदिने!’ उनको कुरो आधा मिनेटमै सकियो।
त्यस्तै, सत्तापक्षकै सांसद इन्द्रधारा विष्टले सत्तापक्षीय भएकाले बाध्यतावश बजेटको समर्थन गरेको बताए। बजेट अध्ययन गर्दा उज्याला प्रकाशमा पनि अग्लाअग्ला हिमाल र पहाडको छायाले आफ्नो गाउँ छेकिएको उनले दुखेसो पोखे।
‘सयौं खानेपानी योजनामा आफ्नो नदेख्दा, सयौं पुल योजनामा आफ्नो गाउँको पुल नदेख्दा यसरी आफ्ना क्षेत्रका योजना छुट्दा समेत हुन्छ भन्नु र ढ्याप–ढ्याप पार्नु कम्ती दुःखको कुरो होइन’, उनले भने, ‘छातीमाथि ढुंगा राखी हाँस्नुपर्या छ।’
प्रदेश ४ को बजेट विनियोजन विधेयकमाथि भएको बुधबारको छलफलमा सत्ता पक्षकै सांसदहरुले उखान–टुक्का जोड्दै असन्तुष्टि पोखेका हुन्। आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मंगलबार प्रदेशसभामा पेश गरेको प्रदेश विनियोजन विधेयकमाथि बुधबार छलफल भएको हो। जसमा सत्तापक्षकै सांसदले समेत विरोध जनाए।
छलफलमा सत्तापक्षकै धनञ्जय दवाडी पनि बजेट विनियोजनप्रति असन्तुष्टि पोखे। एउटै निर्वाचन क्षेत्रलाई बढी बजेट छरेको आरोप लगाए। उनले भने, ‘सिंगो सागर दिँदा पनि मान्छे अघाउँदैन, यो प्रदेश सरकारको इज्जत धान्नैलाई बजेट छरिएको हो?’
कांग्रेस सांसद दोबोटे विश्वकर्माले बजेटमा आफूहरुको माग सम्बोधन नभएको बताए। उनले बजेटमा दलित लगायत अल्पसंख्यकको पक्षमा आफूले कुरा राख्दै आए पनि सुनुवाइ नभएको बताए।
‘हामीले बोलेको त काग कराउँदै जाने पिना सुक्दै जाने जस्तो भयो’, उनले भने।
यस्तै, सांसद मीना गुरुङले नयाँ बजेट विनियोजनले ‘कभी खुसी कभी गम’ दिएको बताइन्।
सांसद ओमकला गुरुङले जनताकै कर बाँड्न पनि पैत्रिक सम्पत्ति बाँडे जस्तो गरेको आरोप लगाइन्। उनले सबै भूगोल र क्षेत्रका आधारमा बजेट विनियोजन गरेको भए राम्रो हुने सुझाव राखिन्। उनले बजेट विनियोजन ‘जसको हात उसैको जगन्नाथ भएको भनाइ राखिन्। ‘बोलम त मुख मैलो नबोलम त डढ्यो थैलो’, उनले भनिन्।
नयाँशक्तिका हरिशरण आचार्यले बजेटको रातो किताबमा धेरै कुरा सच्याउन बाँकी भए पनि ढिलो भइसकेको बताए।
‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाको अनुहार’, उनले भने, ‘अब विरोध गरेर के गर्ने?’
उनले प्राथमिकताका योजनालाई कम बजेट र सामान्य योजनालाई बढी बजेट पारेको आरोप लगाए।
जनमोर्चाका कृष्ण थापाले प्रदेश सरकारले सबैले थाहा पाउनेगरी पोका फुकाएर बजेट विनियोजन नगरेको आरोप लगाए।
‘दुनियाँले थाहा नपाएर लुकाएको त कालो धन हुन्छ,’ उनले भने। आफूहरुको योजना सम्बोधन नभएकाले ‘हुलमा जिउ जोगाउने कि अनिकालमा बीउ जोगाउने’ अवस्थामा पुगेको उनले बताए। सांसद मनकुमारी गुरुङले समानुपातिक सांसदलाई हेपिएको गुनासो गरिन्।
उनले आक्रोश पोखिन्, ‘दुवैको हैसियत एउटै होइन र? अबको चुनावमा समानुपातिक नै खारेज गरिदिए हुन्छ।’
सांसद आशा कोइरालाले महत्वका साथ किटान गरिएका योजना छुटेको तर सामान्य योजना भने परेको गुनासो गरिन्। उनले योजनाको वितरण आवश्यकताका आधारमा र समानरुपले हुनुपर्नेमा जोड दिइन्। सांसद दिलमाया रोकामगर गौतमले पनि योजनाहरु दोहोरिएको र छुटेकाले परिमार्जन गर्न माग गरिन्। सांसद विन्दुकुमार थापाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे ५ सय मिटर बढाउनुपर्ने भएकाले त्यसमा संघसँग समन्वय गरी पहलकदमी लिन आग्रह गरे।
सांसद राजीव पहारीले ‘बजेट निकै उत्कृष्ट रहेकाले पूर्ण समर्थन गर्छु’ भन्दा बैठकमा हाँसोको फोहोरा छुटेको थियो। उनले उखान मार्फत नै बजेट निर्माणका अप्ठ्यारा राखे।
‘टाउको छोपे खुट्टातिर देखिने, खुट्टा छोपे टाउको देखिने छोटो सिरक जस्तो अवस्थामा अर्थमन्त्रीले उत्कृष्ट काम गर्नुभो’, पहारीले भने।
विनियोजन विधेयक अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बुधबार भएको छलफलमा सांसद दीपक कोइराला, सांसद कृष्णबहादुर थापा, इन्द्रलाल सापकोटा, पियारी थापा, जुनादेवी नेपाली लगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।