भैरहवा- राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने माग राख्दै सोमबारदेखि जारी आन्दोलन स्थगित भएको छ। मुआब्जा वितरणका लागि २ अर्ब रुपैयाँ आयोजनालाई प्राप्त आएपछि स्थानीयवासीले आन्दोलन स्थगित गरेका हुन्।
मुआब्जा वितरणका लागि २ अर्ब रुपैयाँ आइसकेकाले बिहीबारबाटै वितरण गरिने विमानस्थलका आयोजना प्रमुख ओम शर्माले जानकारी दिए। मुआब्जा पाउने भएपछि स्थानीयले थालेको आन्दोलन फिर्ता लिए भएको र विमानस्थलको निर्माण कार्य पुरानै गतिमा सुचारु भएको पनि उनले बताए।
एक महिना अगाडि नै मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट ५ अर्ब रुपैयाँ निकासा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त मुआब्जा रकम आयोजनाको खातामा नपठाएको भन्दै पीडितहरुले तीन दिनदेखि आन्दोलन गर्दै आएका थिए।
आन्दोलनको नेतृत्व गरेका ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तोष पाण्डेयले मुआब्जा वितरणको लागि अर्थ मन्त्रालयबाट निकासा भएको ५ अर्ब रुपैयाँ मध्ये २ अर्ब रुपैयाँ आइसकेको जानकारी पाएपछि आन्दोलन स्थागित गरिएको बताए।
उनले बाँकी ३ अर्ब रुपैयाँ पनि २ दिन भित्र आउने पर्यटन राज्यमन्त्रीबाट आश्वासन पाएको उनको भनाइ छ। त्यस्तै पीडितहरुले आगामी साउन महिनादेखि १० लाख रुपैयाँबाट लाभकर तिर्नुपर्ने व्यवस्थाको विरोध गर्दै लाभकर खारेज गर्नुपर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।