समूह 'बी'
इरान भर्सेस स्पेन
समय– असार ६, राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप अन्तर्गत समूह 'बी'को खेलमा इरान र पूर्व विश्वविजेता स्पेनबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा स्पेनलाई पोर्चुगलले ३–३ गोलको बराबरीमा रोकेको थियो। यस्तै, इरानले मोरक्कोलाई १–० गोलले पराजित गरेको थियो।
इरानले विश्वकपका लागि राम्रो तयारी गरेको थियो। पहिलो खेलमा तयारी अनुसारको प्रदर्शन गर्न नसके पनि उसलाई भाग्यले साथ दियो। आत्मघाती गोलका सहायताले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
दोस्रो खेल इरानका लागि कठिन छ। त्यसैले अघिल्लो खेलमा जस्तो प्रदर्शनले आफू कमजोर हुने इरानले बुझेको छ। जित हात पारे इरानको दोस्रो चरणमा पुग्ने सम्भावना बढ्नेछ। बराबरी खेले पनि सम्भावना कायमै हुनेछ।
सन् २०१० को विश्वविजेता स्पनेले पहिलो खेलमा उत्कृष्ट खेल पस्केको थियो। तर, पोर्चुगलसँग ३–३ गोलको बराबरीमा रोकिँदा अंक बाँड्न बाध्य भयो। अब इरान विरुद्धको दोस्रो खेलमा स्पेनको जित नै लक्ष्य हुनेछ। प्रशिक्षक फर्नान्डो हिइरोले टिमको आत्मविश्वास बढाउने काम गरिहरेका छन्। फरवार्ड डिएगो कोस्टाले टिमको विश्वास जितेका छन्। गोलकिपर डेभिड डि गेलाई सहज बनाउन रक्षापंक्ति चुस्त हुनुपर्ने देखिएको छ।
पहिलो खेलमा महत्वपूर्ण ३ अंक हासिल गरेपछि अब इरानको लक्ष्य दोस्रो चरण बनेको छ। तर त्यसका लागि उसले उत्कृष्ट टिम स्पेन र पोर्चुगलसँग भिड्न बाँकी छ। प्रत्येक क्षेत्रमा उत्कृष्ट खेल्नु पर्ने इरानले विशेषगरी रक्षापंक्तिमा ध्यान दिनेछ।
यता स्पेनले इरानी टिम स्पिरिट बुझेको छ। त्यसैले इरान विरुद्ध जित हात पार्न स्पेनको टिम फर्मेसनले असर गर्ने देखिन्छ। राम्रो फर्मेसन भएमा इरानमाथि स्पेन हावी हुनेछ।
इरानले सन् १९९८ पछि विश्वकपमा पहिलो जित हात पार्ने क्रममा मोरक्कोलाई हरायो। यसअघि इरानले सन् १९९८ को विश्वकपमा अमेरिकालाई २–१ गोलले हराएको थियो। त्यसपछि इरानले विश्वकपमा ७ बराबरी र २ हार बेहोरेको थियो। इरानले यो जित एसियाली देशले १२ खेलपछि हात पारेको हो। जापानले सन् २०१० मा डेनमार्कलाई ३–१ ले हराएयता एसियन टिम जितविहीन थिए।
सम्भावित टिम-
स्पेन
डेभिड डे गिआ, जोर्डि अल्बा, सर्जिओ रामोस, जेरार्ड पिके, नाचो, सर्जिओ बुस्केट, थियागो अल्काटारा, आन्द्रेस इनिस्टा, इस्को, डेभिड सिल्भा, डिएगो कोस्टा।
इरान
अलि बेइरान्भाड, रोमिन रेजाइयन, मोर्टेजा पोउलारिगान्जी, पेज्मान मोन्टाजेरी, मासाउद शोजेइ, सइद इजटोलाही, इशान हाजी साफी, ओमिड अब्राहिमी, भाहिद अमिरी, सरदार अज्मोउन, अलिरेजा जाहान्बोख्स।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।