इनरुवा– मकवानपुरको हेटौंडाबाट स्काभेटर बोकेर विराटनगर आउँदै गरेको ट्रक सप्तकोशी नदीमा पल्टिएको छ। ट्रक पल्टिँदा ट्रकमा सवार २ जनाको मृत्यु भएको छ, भने अन्य ७ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ट्रक पूर्णरुपमा नदीमा डुवेकोले नम्बरसमेत पत्ता लगाउन नसकिएको प्रहरीको भनाइ छ।
दुर्घटनाका मृतकको हालसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण चिमरीयाले बताए।
प्रहरी नायव उपरीक्षक चिमरीयाका अनुसार घाइते हुनेहरूमा गौरादह–५, झापाका सन्तोष अधिकारी, टंकीसिनुवारी, मोरङका शुक्रराज लामा, हेटौंडा, मकवानपुरका आइत सिंह पुर्जा, महेन्द्रनगर, सुनसरीका मोतीराज विश्वकर्मा, सुन्दरहरैचा–७, मोरङ्गका कृष्ण चौधरी, कटारी, उदयपुरका हरि मगर र विराटनगर, मोरङका राजकुमार मण्डल रहेका छन्।
घाइतेहरुको सुनसरी जिल्ला अस्पताल, इनरुवामा उपचार भइरहेकोमा १ जनालाई विराट नर्सिङ होममा पठाइएको छ भने बाँकी घाइतेलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिने अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।