काठमाडौं– जेठ महिनाको उत्कृष्ट प्रहरीको पुरस्कार डिएसपीतर्फ महाराजगञ्ज वृत्तका योगेन्द्रसिंह थापा र बालाजु वृत्तका विश्वराज खड्काले पाएका छन्। काठमाडौं परिसरका एसपी रामदत्त जोशी नेतृत्वको पुरस्कार छनोट समितिले दुई डिएसपीलाई संयुक्त रुपमा दिने निर्णय गरेको हो।
५० हजार रुपैयाँ राशीका सो पुरस्कारका लागि ५ डिएसपीले दाबी गरेका थिए। सोह्रखुट्टे वृत्तका दीपक पाखरेल, जनसेवाका टेकुनन्द लिम्बु तथा कीर्तिपुर वृत्तका राजन चापागाईले पनि पुरस्कारको दाबी गरेका थिए।
उनीहरुले पेश गरेका कार्यविवरणको मूल्याङकनको आधारमा थापा र खड्कालाई संयुक्त रुपमा दिने निर्णय एको हो।
पुरस्कार पाएका दुवै डिएसपीको गत आइतबार मात्र सरुवा भइसकेको छ। एक वर्षको कार्यकाल नपुगी उनीहरुले सरुवा गरिएको थियो।
त्यस्तै इन्सपेक्टरतर्फ कोटेश्वर प्रभागका राजु लामा र नागढुंगा प्रभागका केशब भट्टलाई संयुक्त रुपमा दिने निर्णय भएको छ। उत्कृष्ट इन्सपेक्टर पुरस्कारको राशी ३५ हजार रुपैयाँ छ।
बैशाखदेखि परिसरले हरेक महिना उत्कृष्ट काम गर्ने सिपाहीदेखि डिएसपीसम्मका प्रहरीलाई पुरस्कृत गर्न ‘काठमाडौं पुलिस अवार्ड’ स्थापना गरिएको हो। । नेपाल बंगलादेश बैंकको सहयोगमा सो पुरस्कार स्थापना गरिएको हो।
बैशाख महिनामा गौशलाका डिएसपी अनुपम श्रेष्ठ र कालिमाटीका प्रदीप क्षत्रीले संयुक्त रुपमा उत्कृष्ट डिएसपीको पुरस्कार पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।