काठमाडौं– सरकारले लागूऔषध दुरुपयोग एवम् ओसारपसारविरुद्ध साताव्यापी अभियान शुभारम्भ गरेको छ।
लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर सरकारले लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको सप्ताहव्यापी अभियान बुधबारबाट शुभाारम्भ गरेको हो।
गृह मन्त्रालयमा एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गर्दै गृहसचिव प्रेमकुमार राईले लागूऔषधलाई निषेध गर्ने नीति अनुसार सरकारले सो अभियान सञ्चालन गरेको स्पष्ट पारे। उनले लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अभियानमा साथ दिन पनि सबैलाई आह्वान गरे।
सरकारले लागूऔषधको प्रयोग मुलुकको समृद्धिको बाधकको रुपमा रहेको निश्कर्ष निकाल्दै लागूऔषध विरुद्धको अभियानलाई सञ्चालन गर्न नीति तथा कार्यक्रम र बजेटमा पनि विशेष व्यवस्था गरेको छ। गृह सचिव राईले लागूऔषधलाई निषेध र मदिरालाई नियन्त्रण गर्दैै लैजाने सरकारको नीति रहेको पनि बताए। उनले लागूऔषध ओसारपसार गर्नेमाथि कडा कारबाही हुने चेतावनीसमेत दिए।
गृह सचिव राईले सरकारले सुशासन र विकासको नारालाई सार्थक तुल्याउन पनि लागूऔषधबाट हुने गैह्रकानुनी आर्थिक क्रियाकलापलाई निस्तेज पार्ने अभियानलाई निरन्तरता दिएको पनि स्मरण गराए। यस वर्ष सरकारले स्वस्थ, सबल र समृद्ध नेपाल निर्माणका लागि लागूऔषध विरुद्धको अभियानमा सहभागी हुनुपर्ने नारा समेत तय गरेको छ।
यही असार १२ गते लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस विश्वभर मनाइँदैछ। यसै अवसरमा सरकारले पनि सचेतना अभियानसहित लागूऔषध नियन्त्रणसम्बन्धि सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको हो। नेपालमा हाल १ लाख ५० हजार भन्दा बढी लागूऔषध प्रयोगकर्ताहरु रहेको अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।