काठमाडौं– त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन (रेडियोसोण्ड) आजदेखि उडाउन थालिएको छ।
त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागबाट आज बिहान ५ः३० बजे बेलुन उडाइएको छ र क्रमशः नेपालगञ्ज र विराटनगरबाट पनि सञ्चालन गरिने योजना रहेको विभागका प्रमुख प्रा डा दीपक अर्यालले जानकारी दिए।
बेलुन ३०–४० किमी माथिसम्म पुगी तल रहेको सूचना संकलन गर्ने यन्त्रलाई तथ्याङ्क पठाउनेछ र सोही तथ्याङ्कबाट नै मौसमको पूर्वानुमान गर्न सकिनेछ। उक्त बेलुन उडाउँदा दैनिक २ सय अमेरिकी डलर खर्च हुने बताइएको छ।
त्रिविमा मंगलबार आयोजित छलफल कार्यक्रममा रजिष्ट्रार डिल्लीराम उप्रेतीले माथिल्लो वायुमण्डलका विभिन्न उचाइ र तह, वायुमण्डलीय सूचक चाप, तापक्रम, सापेक्षित आद्रता, वायुको दिशा, गतिलगायत मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरणमार्फत जमिनमा पठाउन मौसमी बेलुन उडाइने जानकारी दिएका थिए।
‘अहिले हाम्रो मौसमको पूर्वानुमान लखनउको केन्द्रविन्दु मानेर गरिन्छ।’, उनले भने,‘त्यसले नेपालको मौसमको पूर्वानुमानलाई सत्यता दिन सकेको छैन। अब हामीले हाम्रो देशबाट उडाइने बेलुनबाट मौसमसम्बन्धी सही सूचना पाउने छौँ।’
मौसमी बेलुनले नेपालको मौसम पूर्वानुमानको अवस्थालाई थप वैज्ञानिक एवम् तथ्यगत बनाउने र जल तथा मौसम विज्ञानको उच्च शिक्षामा हुने अनुसन्धानलाई थप मद्दत पुग्ने उनको भनाइ छ।
जल तथा मौसम विभागका महादिर्शेशक डा ऋषिराम शर्माले मौसम पूर्वानुमानलाई थप व्यवस्थित बनाउन सरकारले जर्मनेली प्रविधिको सहयोगमा मौसमी बेलुन उडाउन थालेको बताए। उनले यसअघि पनि मौसमी बेलुन उडाएर प्रयास गरिए पनि प्रविधि खर्चिलो भएकाले अहिले पुनः कार्यान्वयनमा अघि बढेको जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।