हेटौंडा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा बाहिरी आवरणले मात्रै पार्टी एकबद्ध हुन नसक्ने बताएका छन्। कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाका क्रममा बोल्दै पौडेलले वास्तविकताको आधारमा एकता हुनुपर्ने बताए। न्याय, निष्पक्षता र पारदर्शिताको आधारमा मात्रै पार्टी एकबद्ध हुन सक्ने उनको भनाइ थियो।
पार्टीमा एकताबद्ध हुनको लागि सूत्र तथा भावना जिल्ला सभापतिहरुमा भएको जनाउँदै पौडेलले सभापतिहरुलाई भने, 'एकता किन भएन? के गर्दा हुन्छ, के कारणले हामीबीच वैमनस्यता छ?'
छु मन्तरका आधारमा एकता हुन नसक्ने भन्दै उनले फिल्डको अनुभवको आधारमा एकताको सूत्र दिनुपर्ने बताए। विगतमा के कमजोरी भयो त्यसको समाधान यसै भेलाबाट बाहिर ल्याउन सभापतिहरुलाई उनले सुझाए।
वर्तमान सरकारले कतिपय स्थानीय निकायहरुको बजेटमा पौडेलले कांग्रेस भएकै कारण विभेद गरेको पनि आरोप लगाए।
कार्यक्रमममा उपसभापति विमलेन्द्र निधिले आफ्नो शक्ति बलियो भए अरूको शक्तिसँग डराउनु नपर्ने तर्क राखे। सरकारले सर्व सत्तावादको अभ्यास गरेको आरोप लगाउँदै उनले वर्तमान सरकार संघीयताविरोधी रहेको जिकिर गरे।
दुई पार्टीको एकता पनि हुकुमी शैलीमा भएको जनाउँदै उनले भने, 'फलानो पोलिटब्युरो सदस्य, फलानो सदस्य, यो हुकुमी शैली हो।'
अर्का नेता विजय गच्छदारले कम्युनिस्टहरु मिलेपछि लोकतन्त्रलाई खतरा हुने ठानेर नै आफूले कांग्रेससँग पार्टी एकीकरण गरेको बताए। आदर्श, सिद्धान्त नमिलेका दुई पार्टी मिल्न सक्छन् भने एउटै पार्टी किन एकताबद्ध हुन नसकेको भन्दै शीर्ष दुई नेतालाई उनले प्रश्न गरे।
तीन दिनसम्म चल्ने जिल्ला भेलामा उद्घाटन सकिएसँगै आजदेखि बन्द सत्र सुरु हुनेछ। उद्घाटन सत्रमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार र मकवानपुर पार्टी सभापति इन्द्र बानियाँ बोलेका थिए।
तेस्रो धारको प्रतिनिधित्व गर्ने कृष्ण सिटौलालाई मञ्चमा बोलाए पनि जान इच्छा देखाएनन्। कोषाध्यक्ष सीतादेवी यादव पनि कार्यक्रमममा उपस्थित भइनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।