एजेन्सी- भारतीय कलाकार इरफान खान अहिले गम्भीर बिरामी छन्। लन्डनमा उपचार गराइरहेका इरफानलाई न्युरो इन्डोक्राइन क्यान्सर भएको बुझिएको छ। आफ्नो अभिनयकै कारण दर्शकको मनमा बसेका इरफानले एउटा कुराकानीमा आफूले पहिलोपटक स्वतन्त्रताको महसुस गरेको बताएका छन्।
टाइम्स अफ इन्डियामा प्रकाशित अन्सुल चतुर्वेदीसँग गरिएको कुराकानीमा आधारित इरफानको यो जीवनबोध बारेको नोटको नेपाली अनुवाद :
मलाई न्युरो इन्डोक्राइन क्यान्सर पत्ता लागेको केही समय भइसक्यो। मेरा लागि यो आफैंमा नयाँ शब्द हो, जसका बारेमा यसअघि मैले सुनेको थिइनँ। यसका बारेमा थोरै अध्ययन, थोरै केशहरु र तुलनात्मक रुपमा कम जानकारीका कारण पनि यसको उपचारका बारेमा अनिश्चय धेरै थियो। म ट्रायल एन्ड एरर गेमको हिस्सा थिएँ।
म अर्कै खेलमा थिएँ। म तीव्र रफ्तारको ट्रेनमा थिएँ, सपनाहरु थिए, योजनाहरु थिए, आकांक्षा र लक्ष्यहरु थिए। म तिनै कुरामा मग्न थिएँ। अचानक कसैले पछाडिबाट मेरो काँधमा कोट्याउँछ। म फर्केर हेर्छु, टिसी रहेछ, 'तपाईंको गन्तव्य आउन लाग्यो। कृपया ओर्लिनुहोस्।'
म अलमलमा पर्छु र भन्छु, 'हैन हैन, मेरो गन्तव्य आइपुगेको छैन।'
टिसी जवाफ दिन्छ, 'हैन, आइसक्यो। कहिलेकाहीँ यस्तो हुन्छ।'
यो आकस्मिकताले हामी अनुमान नै गर्न नसकिने छालहरु बग्ने सागरमा तैरिरहेको खोया जस्तै भएको महसुस गर्छौं र ती छालहरुलाई नियन्त्रण गर्न हरतरहले प्रयत्न हामी प्रयत्न गर्दछौं।
यो कोलाहल, त्रास, पीडा क्षोभका बीचमा कुनै दिन अत्यासलाग्दो अस्पतालमा पुग्दा म मेरो छोरालाई भन्छु, 'म के अपेक्षा गर्छु भने म यो रोगले आजैको अवस्थामा कुनै संकट पैदा नगरोस्। म मेरो खुट्टाले जमिन टेकिरहून् भन्ने एकदमै चाहन्छु। डर र सन्तापले मलाई कदापि छोप्नुहुन्न।'
त्यो मेरो चाहना थियो। अनि पीडा सुरु भयो। यसरी कि मानौं अहिलेसम्म म पीडाको परिचय पाइरहेको थिएँ र अब चाहिँ त्यसको प्रकृति र गहिराइ बुझ्दैछु। केहीले काम गरिरहेको थिएन। सान्त्वना, उत्प्रेरणा केही थिएन। सारा ब्रह्माण्ड पीडामा परिणत भइरहेको थियो, भगवानभन्दा पनि विशाल पीडा।
म निचोरिएर थकित गलित अवस्थामा अस्पताल प्रवेश गरिरहँदा अस्पतालको अर्कोतर्फ लर्ड्स् स्टेडियम थियो भन्ने मैले पत्तै पाइनछु जुन मेरो बाल्यकालको सपनाको मक्का थियो। पीडाकै बखत मैले भिभिएन रिचार्ड्सको मुस्काइरहेको पोस्टर देखेँ। त्यसले पनि मेरो पीडामा कुनै राहत दिन सकेन मानौं त्यसको मेरो जीवनमा कुनै ठाउँ नै थिएन।
अस्पतालको म बसेको ठिक मास्तिर कोमा वार्ड पनि थियो। अस्पतालको त्यो कोठाको बाल्कोनीमा उभिरहँदा एकदिन केही कुराले मलाई झस्का दियो। जीवनको खेल र मृत्युको खेलको बीचमा एउटा बाटो छ। बाटोको एकातिर अस्पताल छ र अर्कोतर्फ स्टेडियम। यसले मलाई निकै गहिरोसँग झस्का दियो। निश्चय भन्ने कुरा कसैको भागमा छैन, न त्यो अस्पतालमा छ न त स्टेडियममा। यो बोधले मलाई भित्रैसम्म दनक दियो।
जगतको यो विशाल शक्ति र प्रज्ञा देखेर म निकै प्रभावित भएँ। अस्पताल जुन स्थानमा थियो, त्यसको अवस्थितिले मलाई राम्रो झट्का दियो। संसारमा कुनै कुरा निश्चित छ भने त्यो हो अनिश्चय। मैले गर्न सक्ने सबैभन्दा ठूलो कुरा भनेको मेरो शक्ति महसुस गर्नु र मेरो खेल राम्रो बनाउने प्रयत्न मात्रै हो।
यो बोधले मलाई झुकायो, समर्पण गर्न लगायो, विश्वास गर्न लगायो, परिणाम जेसुकै होस्, आउने ८ महिनामा वा ४ महिना वा २ वर्षमा मलाई कहाँ पुर्याकउँछ भन्ने कुराको वास्ता हुन छोड्यो। सन्ताप र चिन्ताले पछाडिका सिटमा आराम गर्न थाले र मेरो मस्तिष्क चेतबाट हराएजत्तिकै भए।
पहिलोपटक मैले महसुस गरेँ, स्वतन्त्रताको सही अर्थ। सम्पूर्णता भए जस्तो महसुस भयो। मानौं कि म पहिलोपटक जीवन भोग्दैछु, जीवनको त्यो जादूमयी पक्ष। सृष्टिको शक्तिमाथि म पूर्ण विश्वस्त भएँ। त्यो शक्ति मेरा सारा शरीरभित्र प्रवेश गरेको महसुस मलाई भयो।
यो कति समय रहला, समयलाई नै थाहा होला तर मलाई अहिले अनुभव भइरहेको यही हो।
यो यात्राभरि विश्वभरिबाट मानिसहरुले मलाई शुभकामना दिइरहेका छन्, मेरा लागि प्रार्थना गरिरहेका छन्। तीमध्ये कतिलाई मैले चिनूँला कतिलाई नचिनूँला। उनीहरुले फरकफरक स्थानबाट र फरकफरक समयका क्षेत्रबाट प्रार्थना गरिरहेका छन्। र मलाई लागिरहेको छ उनीहरु सबैको प्रार्थना एउटै बनेको छ। त्यो एउटा ठूलो शक्ति बिजुली जस्तो बनेर मेरो मेरुदण्ड हुँदै प्रवेश गरेको र मेरो शिरमा ताज उम्रिएको जस्तो मैले अनुभव गरिरहेको छु। कहिले म ससाना मुनाहरु उम्रिएको अनुभव गर्छु, कहिले मसिना पातहरु, कहिले कोपिला र कहिले टुसाहरु। म ती कुराहरु अनुभव गरेर आनन्दित र उत्साहित हुन्छु। हरेक मुना, कोपिला, पात र टुसाहरु जुन संसारभरका मानिसहरुको प्रार्थनाको एकरुपताबाट पलाइरहेका छन्, यिनले मभित्र चमत्कार, सुख र जिज्ञासाहरुले भरिरहेका छन्।
खोयाको बिर्कोले सागरको छाललाई नियन्त्रण गर्नु पर्दैन, कि म सृष्टिको झुलनमा झुल्दै विस्तारै सृष्टिमै मिलेर जानेछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।