पोखरा– प्रदेशसभा ४ को बैठकले अर्थ विधेयक बहुमतले पारित गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेको विधेयकमा मंगलबार छलफल भई बहुमतले पारित भएको हो।
छलफलमा बोल्दै सत्ता पक्षका सांसद इन्द्रलाल सापकोटाले प्रदेश सरकारले कर लगाउने, राजस्व संकलन र राजस्व प्रशासनलाई व्यवस्थित गर्ने कुरामा अगाडि बढाएको बताए। ‘केन्द्रबाट प्रस्तावित अनुदानबाट बाँड्ने मात्रै प्रदेश सरकारको काम होइन’, उनले भने, ‘राजस्व संकलन र कर लगाउने कुराले प्रदेशलाई समृद्धि दिन्छ।’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद विन्दकुमार थापाले अर्थ विधेयक लगानीमुखी नभएको भन्दै आलोचना गरे।
‘घरजग्गा रजिस्ट्रेसन तथा गिटीरोडा, बालुवा आदिमा बढाइएको करले सेहाग्राहीलाई थप व्ययभार पर्न जान्छ’, उनले भने, ‘निर्माण सामग्रीमा पनि मूल्यवृद्धि हुने देखिन्छ।’
सांसद थापाले निर्माण सामग्रीमा यसअघिकै कर कायम राख्न माग समेत गरे। कृषि उपजमा कर लगाउँदा किसानलाई आर्थिक भार पर्ने उनको भनाइ छ।
नयाँशक्तिका सांसद हरिशरण आचार्यले विद्युतीय रिक्सा, भूकम्पप्रभावित जिल्लामा निर्माण सामग्रीमा कर छुट गर्नुपर्ने माग राखे। उनले पोखरा लगायतका शहरमा घरधनीले करछली गरिरहेकोमा प्रदेश सरकारलाई समेत सूचित गराए।
प्रदेशसभाको अर्को बैठक असार ६ गते बिहान ११ बजे बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।