हेटौंडा– कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन सक्छन् भन्नु भ्रम मात्रै भएको बताएका छन्। हेटौंडामा सुरु भएको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा बोल्दै देउवाले कम्युनिस्टको हातमा लोकतन्त्र कदापि सुरक्षित हुन नसक्ने बताएका हुन्।
'कम्युनिस्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्नु जत्तिकै हो', बैठकमा लिखित धारणा राखेका सभापति देउवाले भने, 'सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख छ। गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेका छन्।'
देउवाले सरकार कम्युनिस्टको जनवादी केन्द्रियतातर्फ उन्मुख रहेको आरोप लगाए। 'केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएको छ', उनले भने, 'यस अवस्थामा संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिस्टको अधिनायकवादबाट जोगाउने जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ।'
देउवाले दुइटा ठूला कम्युनिस्ट पार्टीहरुको चुनावी गठबन्धन हारको प्रमुख कारण देखिएको पछिल्लो कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय दोहोर्याए। 'हामीले एउटा लडाइँ हारेका छौं। मैदान हारेका छैनौं। यो संविधानका आधारभूत तत्व वा मूल विशेषताहरु नेपाली कांग्रेसका आदर्शबाट निर्देशित छन्,' उनले भने।
देउवाले उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे। 'कमजोर मानसिकता होइन उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गर्दछु', देउवाले भने।
आजदेखि सुरु भएको भेला तीन दिन चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।