राजविराज– सप्तरीको डाकनेश्वरी नगरपालिका–७, ब्रह्मपुरस्थित जनता रामेश्वर मेमोरियल माविमा मंगलबार विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।
विद्यालयमा नियमित पठनपाठन नभएको र सो विषयमा विद्यालय प्रशासनलाई जानकारी गराउँदा समेत समस्या समाधान नगरेको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन्। विद्यालयको कक्षाकोठा बाहेक प्रअको कार्यकक्ष, प्रशासन, लेखा, स्टोर लगायतका सबै शाखामा तालाबन्दी गरिएको छ।
उनीहरुले विद्यालयमा तालाबन्दी गरी डाकनेश्वरी नगरपालिका कार्यालयमा पुगी नाराबाजी गरेका थिए। विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार यादव स्वयं ढिलो गरी विद्यालयमा आउने गर्दा लामो समयदेखि पठनपाठन प्रभावित भएको र पढाइको विषयमा गुनासो गर्दा उल्टै गाली गलौज गरेको विद्यार्थीले गुनासो गरे।
प्रधानाध्यापक यादवले विद्यालयमा शिक्षकको अभाव रहँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको स्विकार्दै आफूले पटकपटक प्रयास गर्दा पनि सम्बन्धित निकायले शिक्षकको व्यवस्था गर्न नसक्दा यस्तो अवस्था उत्पन्न भएको बताए।
नगरपालिकाका मेयर शिवनारायण यादव र प्रमुख प्रशासकीय अधिकृत मिलन दाहालले विद्यार्थीहरु प्रधानाध्यापकविरुद्ध आन्दोनलमा उत्रिएकाले सहमति गरी समस्या समाधानको प्रयास भइरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।