पोखरा- प्रदेश ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जुत्ता सिलाउन पनि पहिले खुट्टा नाप्नुपर्ने बताएका छन्। प्रदेश ४ को राजस्व र व्यय अनुमानमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले जुत्ता सिलाइसकेपछि खुट्टा नाप्न नसकिने व्यंग्य गरे।
कुनै पनि योजना कार्यान्वयन गर्नुभन्दा पहिले पूर्व सम्भाव्यता अध्ययन गर्नुपर्ने औंल्याउँदै उनले थपे, 'शरीरको नाप नलिईकन कसरी कपडा सिलाउन सकिन्छ?’
विकास निर्माणका सम्पन्न पूर्वसम्भाव्यता अध्ययन गर्नुपर्ने भन्दै उनले सानो योजना आफै गर्न सक्षम भए पनि ठूला योजनाका लागि स्रोतको खोजी आवश्यक पर्ने बताए।
सभामा आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले बजेटले कसैलाई पनि पक्षपात नगरेको प्रस्ट पारे। पोखरा प्रदेशको राजधानी भएकाले स्वाभाभिक रुपमा बढी बजेट पर्ने उनको भनाइ छ। ‘पोखरा केन्द्रमा छ। अन्तभन्दा पनि यहाँ धेरै काम गर्नुपर्छ,’ बजेट पोखरामुखी भएको सांसदको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘प्रदेश स्तरका काम तथा कार्यक्रम गर्न राजनैतिक केन्द्रलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ।’
बजेटमा विभेद छैन
आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले समानुपातिक सांसदको कार्यक्रमलाई उपेक्षा नगरिएको बताए। उनले प्रदेशका सबै जिल्लालाई आफ्नै कार्य क्षेत्रका रुपमा हेर्न समेत आग्रह गर्दै भने, ‘तपाईंले जुन जिल्लाको नागरिकता लिनु भएको छ, त्यो जिल्ला मात्र मेरो हो भन्ने सोचाइ त्याग्नुस्।’
बजेटमा स्थानीयलाई जोड दिएका कारण प्रदेशका ११ वटै जिल्ला सबै सांसदको स्वामित्व रहेको उनले बताए।
प्रदेश ४ को बजेटले कुनै भेदभाव नगरेको मन्त्री गुरुङको भनाइ छ। उनले बहुसांस्कृतिक र बहुजातिमैत्री बजेट ल्याएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।