काठमाडौं- सोमबार निधन भएका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको मंगलबार दाहसंस्कार गरिएको छ। डा देवकोटाकाे पार्थिव शरीरमा श्रीमती डा मधु दीक्षित देवकोटा तथा छोरीहरु मेघा, वसुधा र मञ्जरीले दिउँसो साढे ३ बजे दागबत्ती दिएका हुन्।
डा देवकोटाको पशुपति अार्यघाटमा विद्युतीय मेसिनबाट दाहसंस्कार गरिएको हो। उनीहरुले साढे ३ बजे दागबत्ती दिएका हुन्। पशुपति ल्याउनुअघि डा देवकोटालार्इ श्रद्धाञ्जलीका लागि बिहान ८ देखि १ बजेसम्म न्युरो अस्पतालको प्रांगणमा राखिएको थियो।
डा देवकोटाको काजकिरिया पनि श्रीमती तथा छोरीहरुले गर्नेछन्। काजकिरिया ७ दिनमा सकिने परिवारले जनाएको छ।
पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको थियो।
२०१० पुस ४ गते जन्मेका डा देवकोटाले आफ्नो करिअरको ३४ वर्षको अवधिमा २५ हजारभन्दा बढी बिरामीको शल्यक्रिया र १० लाखभन्दा बढी बिरामी जाँचेका थिए।
डा देवकोटालाई पित्तवाहिनी नलीको क्यान्सर मेडिकल भाषामा बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको थियो।
उपचारका लागि गत मंसिर पहिलो साता बेलायत पुगेका उनी त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल फर्किएका थिए। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै बिताउने डा देवकोटाको इच्छा अनुसार नै नेपाल ल्याइएको थियो।
बैसाख १५ गते नेपाल ल्याइएका डा देवकोटाको न्युरो अस्पतालको भिआइपी वार्डमा राखेर उपचार भइरहेको थियो। उनको अवस्था थप जटिल बन्दै गएपछि आयुर्वेदिक उपचार पनि गराइएको थियो।
गोरखाको अमरज्योति जनता मावि लुइटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाइ, सधैं अब्बल विद्यार्थी साबित भएर देखाए। वीर अस्पतालमा २५ वर्ष सेवा गरेका उनी अहिले बाँसबारीस्थित न्युरो हस्पिटलमार्फत बिरामीको सेवा गरिरहेका थिए। ७ महिना स्वास्थ्यमन्त्री हुँदा उनले थुप्रै राम्रा कामको सुरुवात गरेका थिए।
शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन्। त्यहाँबाट फर्किएपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाएका थिए। त्यसको अर्को वर्ष लोकसेवा पास गरेर वीर अस्पतालमा पोस्टिङ भएका थए।
पाँच वर्ष मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा काम गरे। त्यसपछि उनी न्युरोसर्जरी पढ्न बेलायत गएका हुन्। चिकित्साशास्त्रमै सबैभन्दा जटिल विधा न्युरोसर्जरी उनले तालिम अवधि नसकिँदै पास गरेका थए। त्यो कुरालाई बेलायतीले पनि सम्मान गरेका थिए। नेपालमा सिकेको विद्यार्थीको यो स्तर देखेपछि उनीहरुले अर्को वर्षदेखि नेपालमा ‘एफआरसिएस’ को परीक्षा केन्द्रं राखेका थिए।
पढाइपछिको तालिमका करिब ६ वर्ष उनले सिटी स्क्यान आविस्कारमा नोबेल पुरस्कारप्राप्त संस्थामा समेत काम गर्ने अवसर पाएका थिए।
उनलार्इ तत्कालीन समयमा बेलायतमा बस्न अवसर दिइएको थियो। तर, उनी नेपाल फर्किए। नेपाल फर्किएपछि उनकै नेतृत्वमा वीर अस्पतालमा सन् १९८९ मा न्युरोसर्जरी विभाग बनेको हो। वीर अस्पतालको सरकारी सेवामा उनले २५ वर्ष बिताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।