बेइजिङ– उत्तर कोरियाली नेता किम जोङ उन आज चीन आउने भएका छन्। उनी दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ आउन लागेका बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। तर उनी बुधबार मात्र राजधानी बेइजिङ आइपुग्ने चिनियाँ टेलिभिजन सिसिटिभीले समाचार प्रशारण गरेको छ।
नेता किमले यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिङ्गापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न गरेका थिए। उक्त वार्ताको एक हप्तापछि किम चीन भ्रमणमा निस्कन लागेका हुन्।
उनी आज चीन आइपुगेमा गएको मार्च महिनादेखि यो उनको तेस्रो चीन भ्रमण हुने छ। उनी जुन १२ को शिखर वार्ताको केही दिनमात्र अघि पनि चीन पुगेका थिए।
चिनियाँ राष्ट्रपति सि जिनपिङसँग उनले ग्रेट हल अफ पिपुल्समा भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
उनले राष्ट्रपति र चिनियाँ नेताहरुसँगको भेटमा उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्विपको परमाणु निःशस्त्रीकरणका विषय र त्यसमा आफूले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने अनुमान गरिएको छ।
चीन उत्तर कोरियाको सहयोगी राष्ट्र हो। चीन उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार राष्ट्र पनि हो। बेइजिङले यसअघि नै अमेरिकालाई उत्तर कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ।
चीनसँगको निकटताको कारण पनि उत्तर कोरियाली नेताको चीन भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।
सैन्य अभ्यास स्थगित
यसैबीच अमेरिका र दक्षिण कोरियाले अर्को महिना गर्ने भनिएको संयुक्त सैन्य अभ्यास स्थगित गरेको जनाएका छन्।
उनीहरुले उक्त सैन्य अभ्यास स्थगित गरेको पुष्टि पनि गरेका छन्। सिङ्गापुर वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने प्रतिवद्धता उत्तर कोरियाली नेता किमसँग गरेका थिए।
उत्तर कोरियाले सो सैन्य अभ्यास आफूविरुद्ध लक्षित भएको बताउँदै आएको छ। उसले उक्त सैन्य अभ्यास सञ्चालन गरेमा यसअघि दुई कोरिया र उत्तर कोरिया अमेरिकाबीच सम्पन्न शिखर वार्ता र सम्झौताहरुको उल्लङ्घन हुने पनि बताएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।