हेटौंडा- नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा सुरु भएको छ। तीन दिन चल्ने भेला हेटौंडाको पल्पसा क्याफेमा भरखरै सुरु भएको हो।
जिल्ला सभापितहरुको राष्ट्रिय भेलाको सभापति शेरबहादुर देउवाले उद्घाटन गरे। अहिले उद्घाटन सत्र चलिरहेको छ।
पहिलो दिनको उद्घाटन सत्रमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका सीमित नेताले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाको दोस्रो दिन जिल्ला सभापतिहरूले आफ्ना धारणा राख्नेछन् भने समापनको दिन ७ प्रदेशका ७ समूहबाट आएका सुझाव एकत्रित गरिने बताइएको छ।
कांग्रेसमा जिल्ला सभापतिहरुको भेलालाई मिनी महासमितिका रूपमा लिने गरिएको छ। केन्द्रीय सदस्यहरूले जिल्ला सभापतिहरुको धारणा सुन्न पाउनेछन् तर उनीहरूले भेलामा बोल्न भने पाउने छैनन्।
मूलतः विधान संशोधनका लागि बोलाइएको भेलामा जिल्ला सभापतिहरूले पार्टीको पराजय, गुट, उपगुट, टिकट वितरण, विधान विपरीतका कार्य, प्रतिपक्ष दलको कमजोर भूमिका र सरकारका गलत कदमका विषयमा धारणा राख्ने भएका छन्।
यसैबीच, भेलाको उद्घाटन हुनुअघि बिहान करिब चार दर्जन जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य डा शेखर कोइरालासँग आन्तरिक छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।