राजविराज- बाढीको जोखिम कम गर्ने उद्देश्यले आयोजित कार्यक्रमका सहभागीहरुले भत्ताको विषयलाई लिएर असन्तुष्टि जनाएका छन्। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको सहयोगमा गृह मन्त्रालयले सोमबार सप्तरीमा गरेको कार्यक्रममा भत्तामा विभेद गरेको सहभागीबाटै असन्तुष्टि भएपछि सो घटना बाहिरिएको हो।
आयोजकले सहभागीबीच नै विभेद गरेको कोशीपीडित 8का देवनारायण यादवले बताए।
करिब ७५ जना सहभागी कार्यक्रममा ५ हजार, ३ हजार ५ सय, १ हजार ५ सय र १ हजार गरी ४ प्रकारको भत्ता वितरण गरिएको सहभागीहरुले बताएका छन्। एउटै कार्यक्रममा सहभागी भएकालाई फरक–फरक व्यवहार गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने आफूले संयोजनको काम मात्र गरेकाले भत्ता वितरणको विषय जानकारी नभएको बताए। तर, उदयपुर र सदरमुकाम बाहिरबाट आउने सहभागीलाई यातायात खर्च दिनुपर्ने भएकाले केही तलमाथि भएको हुन सक्ने उनको भनाइ छ।
प्रदेश १ को उदयपुर र प्रदेश २ को सप्तरीका सरोकारवालालाई कार्यक्रममा बोलाइएको थियो। जसमा स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, रेडक्रस लगायतका प्रतिनिधिहरु थिए। तर अधिकांश स्थानीय तहका प्रमुखहरु कार्यक्रममा सहभागी थिएनन्। राजविराजमा एकैदिन ४ वटा औपचारिक कार्यक्रम जुधेका कारण सहभागी बाँडिएकाले कार्यक्रम प्रभावकारी नभएको एक प्रतिनिधिले बताए।
बाढीको पूर्वानुमान, पूर्वतयारी, कार्यविधि निर्माण तथा कृत्रिम अभ्यासका लागि तयार भएका कार्यक्रमसमेत औपचारिकतामा मात्रै सीमित हुने गरेको सरोकारवालाहरुको गुनासो छ। नदी नियन्त्रणका लागि भइरहेका काम समेत गुणस्तयुक्त नभएको नदी तटीय क्षेत्रका सर्वसाधारणहरु बताउँछन्। भत्किएका बाँध मर्मत हुन नसकेको र भएका कामसमेत प्रभावकारी हुन नसक्दा यस वर्षको बाढीले सप्तरीमा ठूलो क्षति गर्न सक्ने प्राविधिकहरु नै बताउँछन्।
चुरे क्षेत्र हुँदै बग्ने आधा दर्जन खहरे खोलामा आउने बाढीका कारण सप्तरी जिल्ला हरेक वर्ष जोखिममा पर्ने गरेको छ। गत वर्षायाममा मात्रै बाढीका कारण सप्तरीमा ५ जनाले ज्यान गुमाए भने डेढ अर्ब रुपैयाँभन्दा बढीको क्षति भयो। २५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भए। ७ सय ४२ घरमा आंशिक क्षति पुग्यो भने १ हजार ४ सय ८९ परिवार विस्थापित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।