काठमाडौं– २०१८ फिफा विश्वकपमा सहभागी क्रोएसियाका फरवार्ड निकोला कालिनिकलाई रसियाबाट घर फिर्ता पठाइएको छ। नाइजेरिया विरुद्धको खेलमा सब्सिच्युट खेलाडीको रुपमा खेल्न अस्विकार गरेपछि उनलाई घर फिर्ता गरिएको हो।
३० वर्षीय कालिनिकले नाइजेरिया विरुद्धको खेलमा सब्बसिच्युट खेलाडीको रुपमा मैदान छिर्न अस्विकार गरेका थिए।
कालिनिकले ढाडको समस्याका कारण मैदान छिर्न अस्विकार गरेको बताएका थिए। उनले यसअघि ब्राजिल विरुद्धको मैत्रीपूर्ण खेलमा पनि यहि समस्याको देखाउदै खेलेका थिएनन्। विश्वकप सहभागी सवै टिममा २३ खेलाडी हुने भएपनि अब क्रोएसियाको टिममा २२ सदस्य मात्र हुनेछन्।
'टिमका सबै खेलाडी फिट र खेल्न तयार हुनुपर्छ, ' क्रोएसियका प्रशिक्षक जाटल्को डालिकले भने, 'नाइजेरिया विरुद्धको खेलमा कालिनिक वार्म अप गर्दै थिए। उनलाई दोस्रो हाफमा मैदान छिराउने योजना थियो। तर उनी खेल्न तयार देखिएनन्। ढाँडको समस्या भएको बताए। उनले ब्राजिल विरुद्ध खेलमा पनि यस्तै गरेका थिए। यद्यपी उनी अभ्यास शत्रमा फिट थिए।'
हाल इटालियन क्लब एसी मिलानमा आवद्ध कालिनिकले गत सिजन फ्लोरेन्टिनाबाट लोनमा खेलेका थिए।
क्रोएसियाका लागि ४१ खेलमा १५ गोल गरेका उनी पछिल्लो चार खेलमा भने पहिलो रोजाइमा पर्न सकेका थिएनन्।
जारी विश्वकपमा क्रोएसिया समूह 'डी' मा छ। समूहको दोस्रो खेलमा क्रोएसियाले बिहीबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दैछ।
विश्वकपकै दौरान घर फर्काइएका उनी छैटौं खेलाडी हुन्। यसअघि सन् १९७८ मा स्कटल्यान्डका विली जोनसन ड्रग टेस्टमा असफल हुँदा घर फर्काइएका थिए। २००२ मा आयरल्यान्डका रोए केनले तयारीप्रति असन्तुष्टि राख्दा राष्ट्रिय टिमबाट निकालिएका थिए।
यस्तै १९९४ मा अर्जेन्टिनाका डिएगो म्याराडोना ड्रग टेस्टमा असफल हुँदा समूह चरणको अन्तिम खेलअघि प्रतिबन्धमा परेका थिए।
सन् २०१० मा प्रशिक्षकसँग मनमुटाव बढेपछि फ्रान्सका निकोलास एनेल्का टिमबाट बाहिरिएका थिए।
२००२ मा स्लेभेनियाका जाहोभिकलाई प्रशिक्षकसँग असन्तुष्टि जनाएका कारण टिमबाट हटाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।