चितवन– एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौंडाले धरौटीमा रिहा गरेको छ।
भरतपुर महानगरपालिका–४ त्रिचोकमा बसोबास गर्दै आएकी एक महिलालाई उनले गत बैसाख ९ गते तेजाब छर्केका थिए।
शरीरको विभिन्न भागमा तेजाप परेर महिला बिरामी भइ अस्पतालमा उपचारपछि घर फर्किएकी र उनले प्रहरी नायब निरीक्षक खनियाँ विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जेठ ३ गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएकी थिइन्।
अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार जिल्ला अदालतले मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८(२) बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
खनियाँले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै उच्च अदालत हेटौँडामा निवेदन पेश गरेकामा उक्त अदालतले ३ लाख धरौटीमा रिहा गरेको पौडेलले बताए। पीडित महिला र उनका श्रीमानले खनियाँविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा जाहेरी दिएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।