हेटौंडा- जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाअघि कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालासँग करिब चार दर्जन जिल्ला सभापतिहरूले आन्तरिक छलफल गरेका छन्।
भेलामा प्रस्तुत गरिने विषयमा रणनीति तय गर्न छुट्टै सभापतिहरु कोइराला बसेको होटलमा पुगेका थिए। सभापति शेरबहादुर देउवासँग असन्तुष्ट जिल्ला सभापतिहरुसँग कोइरालाले भेटेका हुन्।
टिकट वितरणको क्रममा जिल्ला सभापतिहरुको अधिकारमाथि केन्द्रले हस्तक्षेप गरेको भन्दै जिल्ला सभापतिहरु असन्तुष्ट छन्। विधान संशोधनका लागि सुझाव दिन बोलाइएको भेलामा सभापतिको कार्यक्षमतामाथि जिल्ला उनीहरुले भेलामा प्रश्न उठाउने भएका छन्।
बुधबारदेखि सुरु हुने बन्द सेसनमा प्रादेशिक रूपमा सुझाव संकलन गरिने बताइएको छ। केही जिल्ला सभापतिहरूले सबै जिल्ला सभापतिलाई बोल्न दिनुपर्ने माग गरेका छन्।
यसैबीच सोमबार साँझ बसेको केन्द्रीय समितिको बैठक विवादका बीच सकिएको थियो। जिल्ला भेलाको तयारीबारे जानकारी दिन प्रारम्भमा मकवानपुर सभापति इन्द्र बानियाँलाई सभापतिले समय दिएका थिए। बानियाँ बोलेपछि गत महिना मुख्य सचिवले जिल्लामा पठाएको परिपत्र महामन्त्री डा शशांक कोइरालाले पढाएर सुनाएका थिए।
मुख्य सचिवले पठाइसकेको पत्रको केन्द्रीय समितिमा प्रस्तुत गरिनुको अर्थ नरहेको भन्दै पूर्वमहामन्त्री कृष्ण सिटौलाले आपत्ति जनाएका थिए। विवादबीच सभापति देउवाले जिल्ला सभापतिको भेलामा भेट हुने भन्दै बैठक अन्त्य गरेका थिए।
हेटौंडाको पल्पसा क्याफेमा आजदेखि सुरु हुने भेला तीन दिन चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।