समूह ‘एच’
कोलम्बिया भर्सेस जापान
समय– असार ५, साँझ ५ः४५ बजे
काठमाडौं– सन् २०१४ को विश्वकपमा जापान र कोलम्बिया एउटै समूहमा पारेका थिए। समूह चरणको खेलमा कोलम्बियाले जापानमाथि ४–१ को सानदार जित हात पारेको थियो। चार वर्षपछि फेरि जापान र कोलम्बियाबीच समूह चरणमै प्रतिस्पर्धा हुँदैछ। समूह ‘एच’ अन्तर्गत जापान र कोलम्बिया आज साँझ प्रतिस्पर्धा गर्दैछन्।
गत संस्करणको विश्वकपमा कोलम्बियाले समूह चरणमा उत्कृष्ट खेल पस्केको थियो। जेम्स रोड्रिगेजको उच्च प्रदर्शनमा उसले समूह चरणमा मात्र होइन अन्तिम १६ सम्म पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएको थियो। तर अन्तिम आठमा कोलम्बिया ब्राजिलसँग २–१ गोल अन्तरले पराजित भएको थियो।
यसपटक रोड्रिगेजसँग अन्तर्राष्ट्रिय खेल अनुभवको कुनै कमी छैन। स्टार खेलाडी राडामेल फल्काओले विश्वकपमा डेब्यू गर्दैछन्। फल्काओ गत संस्करणमा घाइते भएका कारण टिममा थिएनन्।
१९९८ देखि लगातार विश्वकप खेलिरहेको जापानको प्रदर्शन भने राम्रो हुन सकेको छैन। लगातार छैटौं पटक विश्वकपमा सहभागी जापानको यसपटकको लक्ष अन्तिम १६ मा पुग्नु हो। जापानले सन् २००२ र २०१० मा अन्तिम १६ को यात्रा तय गरेको थियो। अन्य संस्करणमा भने जापान समूह चरणबाटै बाहिरिएको थियो। यसपटक जापानले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। तर विश्वकप छनोट चरणमै कठिन यात्रा तय गरेको जापानका लागि आसन्न विश्वकप यात्रा सहज छैन।
जापान भन्दा कोलम्बिया बलियो टिम हो। तर जापानलाई हल्का रुपमा लिने गल्ति उसले गर्ने छैन। कप्तान फल्काओले विश्वकपमा डेब्यू गर्दा कोलम्बियाका लागि भावुक क्षण हुनेछ।
जापानका नयाँ प्रशिक्षक अकिरा निशिनोले अंग्रपंक्तिमा विशेष ध्यान दिएका छन्। उनी जोखिम मोलेर आक्रमक रुपमा खेल्ने मनस्थितिमा देखिएका छन्। जापानको बलियो पक्ष मिडफिल्ड हो। माकोतो हासेबे र गाकु शिवासाकीले फरवार्डहरु केइसुके होन्डा र सिन्जी कागावालाई सटिक पास उपलब्ध गराउन मिहिनेत गर्ने विश्वास गरिएको छ। विशेषगरी जापानले काउन्टर आक्रमणलाई सदुपयोग गर्नसकेमा बलियो कोलम्बियालाई दबाव पर्नेछ।
जापान र कोलम्बियाबीच अहिलेसम्म ३ खेल भएको छ। तीन वटै खेलमा कोलम्बिया विजयी भएको छ। सन् २००३ मा कोलम्बियाले जापानलाई १–० ले हराउँदा २००७ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। गत विश्वकपमा भने कोलम्बियाले ४–१ को जित हात पारेको थियो।
सम्भावित टिम
कोलम्बिया: डेभिड ओस्पिना, सान्टिएगो अरिएस, यारी मिना, डेभिन्सन सान्चेज, जोहन मोजिका, अबेल अगुइलार, कोर्लो सान्चेज, जुवान काउडार्डो, जेम्स रोड्रिगेज, लुइस मुरिइल, राडामेल फल्काओ
जापान: इजी कावाशिमा, हिरोकी साकर्इ, माया योडिदा, टोमाओकी मकिनो, युतो नागातोमो, माकोतो हासेबे, गाकु शिवासाकी, गेन्की हरागुची, केइसुके होन्डा, ताकाशी इनुइ, युया असाको
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।