सिओल– दक्षिण कोरिया र उत्तर कोरियाले आउँदो एसियन खेलकुद प्रतियोगिताका लागि खेलाडीहरुको संयुक्त टोली बनाउने भएका छन्।
आउँदो अगष्टमा इन्डोनेसियामा हुने प्रतियोगिताका विविध खेलहरु मध्ये केही खेलहरुमा उनीहरुले संयुक्त टोली बनाउने सहमति सोमबार गरेका हुन्।
दुई देशका खेलकुद सम्बन्धी निकायका उच्च अधिकारीहरुको संयुक्त बैठकले खेलाडीहरुको संयुक्त टोली बनाउने निर्णय गरेको हो।
सो प्रतियोगिताको उद्घाटन र समापन समारोहमा पनि दुई देशले संयुक्त प्रदर्शन गर्ने तय भएको अधिकारीहरुले बताएका छन्।
दक्षिण कोरियाको संस्कृति, खेल र पर्यटन मन्त्रालयले गत अप्रिल २७ तारिखका दिन भएको दुई कोरियाको पहिलो शिखर वार्तामा नै एसियन खेलकुदमा संयुक्त सहभागिताबारे सम्झौता भएको जनाएको छ।
यसअघि गत फेब्रुअरीमा भएको शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा पनि दुई देशले संयुक्त रुपमा मार्च पास गरेका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।