बुटवल– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटप्रति असहमति जनाउँदै प्रदेश ५ को संसद् बैठक बहिस्कार गरेको छ। आज दिउँसो १ बजे बसेको बैठकमा कांग्रेस सांसद डिल्ली चौधरीले सरकारले प्रस्तुत गरेको बजेट असमान र एकलौटी भएको भन्दै विरोध जनाएपछि कांग्रेसका सांसदले आआफ्नो स्थानबाट उठेर अवरोध सिर्जना गरेका थिए।
सभामुख पूर्णबहादुर घर्तीले संसद् बैठक अगाडि बढाउन पटक–पटक आग्रह गर्दा समेत कांग्रेस सांसदले नमानेपछि उनीहरू बैठक नै बहिस्कार गरी बाहिरिएका थिए।
कांग्रेस सचेतक निर्मला क्षेत्रीले आफूहरूले उठाएका माग संसद्मा मुख्यमन्त्रीले सम्बोधन नगर्दासम्म बैठक अवरुद्ध गर्ने बताइन्।
‘सरकारले ल्याएको बजेट कहीँ धेरै, कहीँ खाली जस्तै छ, यसले विकास हुँदैन। हामीलाई स्वीकार्य छैन,’ उनले भनिन्।
माग सम्बोधन नभएसम्म बैठकमा सहभागी नहुने कांग्रेसको अडान छ। संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक भोलि १ बजे बस्नेगरी स्थगित भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।