काठमाडौं– मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्धको ठगी मुद्दामा बयान समाप्त भएको छ।
जिल्ला अदालत ललितपुरमा आइतबार दर्ता भएको मुद्दामा सोमबार अदालतले बयान सकेको हो। मंगलवार उनको मुद्दामा थुनछेक बहस हुनेछ।
सरकारी वकिल र श्रेष्ठका कानुन व्यवसायीको बहसपछि अदालतले आफ्नो निर्णय सुनाउनेछ। जिल्ला न्यायाधीश धनसिंह महराको इजलासले उनको मुद्दा सुनुवाइ गरिरहेको छ। अदालतले धरौटीमा छोडेमा उनी उक्त रकम बुझाएर रिहा हुनेछन् भने थुनामा पठाएका फैसला नभएसम्म थुनामा बस्नुपर्नेछ।
आइतबार प्रहरीले श्रेष्ठविरुद्ध २ करोड ७५ लाख बिगो रकम माग दाबी गर्दै ठगी मुद्दा दायर गरेको थियो। यसअघि काठमाडौं जिल्ला अदालतले सामान्य धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। करिब ३ अर्ब बिगो दाबी गरिएको मुद्दामा जिल्ला अदालतले उनलाई १० लाख धरौटी मात्र माग गरेको थियो। धरौटी बुझाएलगत्तै जिल्ला अदालतवाटै उनलाई प्रहरीले पक्राउ गर्दै ललितपुरमा अनुसन्धान थालेको थियो।
जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेतको इकल इजलासले श्रेष्ठसँग जेठ ३० गते १० लाख रुपैयाँ धरौटी मागेको थियो। जिल्ला अदालतले तोेकेको रकम नगद बुझाएर रिहा हुन लाग्दा थप ठगी उजुरी परेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।