काठमाडौं– मंगलबारदेखि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे प्रतिनिधिसभामा जानकारी गराएका छन्।
प्रधानमन्त्रीले चीनले हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गरेको र ऊ कमजोर भएको बेलामा पनि हामीलाई धेरै क्षेत्रमा सहयोग गरेको भन्दै प्रशंसा गरे। आफ्नै प्रयासबाट मात्रै सम्भव नभएकाले छिमेकीहरुको सहयोगबाट विकास र समृद्धिको बाटोमा देशलाई लैजानुपर्ने प्रधानमन्त्रीले बताए।
'भूकम्पपछि तातोपानी नाका चलिरहेको छैन। विभिन्न बाटाहरुको बारेमा हामीले चीनसँग कुरा गरेका छौं। थप केही बाटोहरु, थप करिडोरहरुमा समझदारी हुने सम्भावना छ', प्रधानमन्त्रीले भने।
'म यो गरिमामय सदनलाई विश्वास दिलाउन चाहन्छु, मेरो भ्रमणको अवसरमा दुई पक्षबीच गरिने सबै सम्झौता, समझदारी र छलफलहरु जे हुन्छन्, ती सबै मुलुकको बृहत्तर हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर गरिनेछ', प्रधानमन्त्री केपी ओलीले भने।
चीन विरुद्धका कुनै पनि गतिविधि नेपाली भूमिका गर्न नदिने प्रधानमन्त्रीले बताए। 'हामीले चीनको संवेदनशीलतालाई बुझेका छौं', संसदमा प्रधानमन्त्रीले भने, 'हामी एक चीन नीतिमा दृढ छौं।'
प्रधानमन्त्रीले विराटनगरमा रहेको भारतीय 'फिल्ड अफिस' हटाइएको, थप चार ठाउँमा एयर रुट खोल्ने विषय अन्तिम प्रक्रियामा पुगेको लगायतका विषयमा चर्चा गरेका छन्।
'मान्यज्युहरुलाई अचम्म लाग्ला, यस्ता विषयमा कसरी सरासर काम भइरहेको छ', प्रधानमन्त्रीले भने, 'यो सरासर भइरहेको छ। यो देश हितको पक्षमा भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।