काठमाडौं– मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत ललितपुरमा दोस्रो ठगी मुद्दामा थुनछेक बयान सुरु भएको छ।
आइतबार प्रहरीले श्रेष्ठविरुद्ध २ करोड ७५ लाख बिगो माग दाबी गर्दै ठगी मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासमा बयान सुरु भएको हो।
यसअघि काठमाडौ जिल्ला अदालतबाट सामान्य धरौटीमा उनी रिहा भएका थिए। जिल्ला अदालतबाटै उनलाई प्रहरीले पक्राउ गर्दै ललितपुरमा अनुसन्धान थालेको थियो। जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेतको इकल इजलाशले श्रेष्ठलाई जेठ ३० गते १० लाख रुपैयाँ धरौटी मागेको थियो। जिल्ला अदालतले तोेकेको रकम नगदै बुझाएर रिहा भएलगत्तै ललितपुरमा पनि ठगीको थप उजुरी रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।
काठमाडौं सरकारी वकिलको कार्यालयले श्रेष्ठलाई २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो दाबी गरी मुद्दा दायर गरेको थियो।
प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भिएलएन र जिएसजी कम्पनीमा छापा मारेको थियो। मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष श्रेष्ठसहित ४० जना पक्राउ परेका थिए। पक्राउ परेका धेरै जसो व्यवसायीहरु धरौटीमा छुटिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।