ad

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकियो, धावनमार्गमै टेन्ट टाँगेर अवरोध

Nepal Live

भैरहवा- अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै भैरहवाका स्थानीयवासी आन्दोलित भएका छन्। उनीहरु आनदोलनमा उत्रिएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ।

स्थानीयहरु रनवेमा जम्मा भएर आन्दोलन गरेका कारण विमानस्थलको काम अवरुद्ध बनेको छ। नदीजन्य पदार्थ डम्पिङ गरिएको ठाउँ धावनमार्गमा उनीहरु टेन्ट टाँगेर बसेका छन्।

५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तोष पाण्डेयको नेतृत्वमा विमानस्थलको निर्माण कार्य रोकिएको छ। आयोजनाले जग्गाको मूल्यांकन भएको २ महिनाभित्र नै मुआब्जा वितरण गर्ने सहमति भए पनि हालसम्म वितरण नहुँदा बाध्य भएर निर्माण कार्य रोक्नुपरेको प्रदेशसभा सदस्य पाण्डेले बताए। उनले दुई महिनामा मुआब्जा वितरण गर्ने भएको सहमति एक वर्ष भइसक्दा समेत करिब १२ प्रतिशतले मात्र मुआब्जा पाएको बताए।

आयोजनाले अधिग्रहण नगरेको करिब ५ सय बिघा जग्गासमेत रोक्का गरेको कारण जग्गाधनीहरुको सम्पत्तिको अधिकार खोसिएको उनले दाबी गरे।

विगतमा ३० लाख रुपैयाँबाट लाभकर दिनुपर्ने व्यवस्था रहे पनि अगामी साउनदेखि १० लाख रुपैयाँबाट नै लाभकर दिनुपर्ने हुन लागेको व्यवस्थाको उनले विरोध गरे। स्थानीयहरुले मुआब्जा नपाएसम्म निर्माण कार्य सुचारु हुन नदिने अडान लिएका छन्।

यता निर्माणधीन विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले यस विषयमा माथिल्लो निकायमा जानकारी भइसकेको बताउँदै अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको कारण अब मुआब्जा वितरणमा ढिलाइ नहुने बताए। 'मुआब्जा नपाएका कारण स्थानीयहरु आक्रोशित भएका छन्,' उनले भने, 'मन्त्रालयबाट रकम निकासा भइसकेको कारण अब एकदुई दिनमै मुआब्जा वितरण हुनेछ।'

दीपक घिमिरे

पत्रकार घिमिरे नेपाल लाइभका प्रदेश ५ का संयोजक हुन्

प्राप्त प्रतिकृयाहरू

Sanjay Bajimaya
Highly corrupted our internal system!!!

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार