काठमाडौं- असारको महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडकपेटीबाट हिँड्दा लाग्छ, धान रोप्न तयार पारिएको यो एउटा लामो गरो हो।
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा मासिक हजारौं विदेशी पर्यटक आउँछन्। सम्पदा क्षेत्र अगाडि सडकको यो अवस्था हुँदा पर्यटकमार्फत विश्वमा के सन्देश जाला? त्यसको हेक्का सरोकार भएका निकायले राखेको देखिँदैन।
चाबहिल–चुच्चेपाटी सडकको अवस्था पनि यस्तै थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला रातारात यो सडक तयार भएको थियो। त्यो गतिमा काम भएको भए यो सडकको अवस्था यस्तो नहुने स्थानीय पार्वती तामाङ सुनाउँछिन्।
‘साइड क्लियर भएका स्थानमा पनि काम भएको छैन, निर्माण व्यवसायी काम गर्न साइड नै नभएको रटान लगाइरहेका छन्, खाली भएको स्थान जति बनाइदिए पनि सवारी र पैदलयात्रुका लागि सहज हुने थियो', उनले भने।
सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि भइरहे पनि सकिएको छैन। भत्काउन सुरु नभएका घर कहिले भत्कने हो टुंगो छैन। चाबहिलबाट जोरपाटीसम्मको ३.६ किलोमिटर सडक विस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रा लिसँग सम्झौता भएको थियो। अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
बौद्ध पीपपलबोट सडक किनारमा कपडा सिलाउने व्यवसाय गर्दै आएका दैलेखका टेकबहादुर नेपाली एक साताअघि गिट्टी मिसिएको माटो हाले पनि पहिलेकै अवस्थामा सडक पुगेको बताउँछन्। सडकमा जमेको पानी सवारीसाधनले छ्याप्दा जिउ नै भिज्ने उनको गुनासो छ।
जोरपाटीसम्मको क्षेत्रमा सडक अधिकार क्षेत्रकै विवाद छ। दायाँ भागमा सडक बन्नुअघिको राजकुलो मिचेर व्यक्तिले जग्गा धनी प्रमाण पूर्जा बनाएको बायाँ किनारका स्थानीयवासीको भनाइ छ। आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठ पुरानो र नयाँ नापीबारे विवाद भएर घर नभत्केको बताउँछन्। जोरपाटी ओरालोसम्म यो विवाद छ।
बौद्ध र जोरपाटी क्षेत्रमा खानेपानी तथा ढल लिकेज भएर सडकमा दह जम्ने गरेको छ। वर्षात्का समयमा बौद्ध क्षेत्रमा सवारीसाधन चल्दैन। खानेपानी र ढल चुहिँदा यो क्षेत्रको सडकमा धेरै खाल्डाखुल्डी छन्। अझ दायाँबायाँ भत्काउँदै गरिएका घरको धूलो र हिलोले सडकमा निस्कन नसकिने अवस्था रहेको स्थानीयवासी बताउँछन्।
जोरपाटी–थली–साँखु सडक पनि उस्तै
वाग्मती पुलबाट थलीसम्मको २.४ किमी सडक विस्तार तीन वर्षमा ४० प्रतिशतमात्र भौतिक प्रगति भएको छ। २०७२ असोज १३ गते नै सम्झौता भएको यो सडक आगामी पुस १४ सम्म विस्तार सक्नुपर्छ। बज्रगुरु/च्याङ्मिला/खानी जेभीले काम गरिरहेको यो खण्डमा दक्षिणढोकाका २३ घरको अन्तरिम आदेशका कारण घर भत्काउन नसकिएको सूचना अधिकारी श्रेष्ठले सुनाए।
मूलपानी क्षेत्रमा सडकको अधिकार क्षेत्रको विवाद छ। यो क्षेत्रमा पनि विद्युत् र टेलिफोनको तार हटेको छैन। मूलपानीमा वनको रुखका कारण समेत काममा ढिलाइ भएको छ। थलीबाट खुलालटारसम्म तीन किलोमिटरको खण्डमा काठमाडौं उपत्यका विकास प्राधिकरणले घर भत्काउन क्षतिपूर्ति दिन ढिलाइ गरेको आयोजनाले जनाएको छ।
प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपाने क्षतिपूर्ति दिन करोडौँ लाग्ने भए पनि सरकारले बजेट उपलब्ध गराउन नसकेको बताउँछन्। थली क्षेत्रका ३८ घरले सर्वोच्च अदालतबाट अन्तरिम आदेश गराएकाले काम हुनसकेको छैन।
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकमा पनि मुद्दाकै कारण विस्तार हुन नसक्दा वर्षामा हिलो र हिउँदमा धूलोले यात्रा कठिन छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।