जलालाबाद (एजेन्सी)- अफगानिस्तानको पूर्वी क्षेत्रमा एक आत्मघाती बम विस्फोट हुँदा मुस्लिमहरुको महान् पर्व इदको बिदा मनाइरहेका १८ जनाको मृत्यु भएको छ।
जलालाबाद शहरमा नानगरहर प्रान्तका गभर्नर कार्यालय बाहिर भएको विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी भने नलिएको गर्भनरका प्रवक्ता अताउल्ला खोग्यानीले बताएका छन्।
यद्यपि के आशंका गरिएको छ भने, युद्धविरामको फाइदा उठाउँदै तालिबानका लडाकु काबुलसहित अफगानिस्तानका अन्य भूभागमा प्रवेश गरेको र युद्धविराम समाप्त हुन्जेल तिनै स्थानमा बस्नेछन्।
ननगरहर प्रान्तका स्वास्थ्य निर्देशक नजीबुल्ला कमावालले आइतबार भएको सो विस्फोटमा १८ जनाको मृत्यु भएको र ४९ जना घाइते भएका बताएका छन्। गभर्नरका प्रवक्ता खोग्यानीले भने विस्फोटमा १९ जनाको मृत्यु भएको बताएका छन्। उनका अनुसार आक्रमणकारी पैदल आएर गभर्नर कार्यालय परिसरमा इदको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर फर्किरहेका व्यक्तिहरुलाई निशाना बनाएका थिए।
अप्रत्याशित युद्धविरामपछि पछिल्लो दुई दिनमा यो दोस्रो आक्रमण भएको बताइएको छ।
यसअघि शनिबार पनि ननगरहर प्रान्तमै इद मिलन कार्यक्रममा उपस्थित तालिबान, सुरक्षाकर्मी र सर्वसाधारणलाई लक्षित गर्दै गराइएको विस्फोटमा ३६ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।