काठमाडौं– प्राविधिक एआइजी डा दिनेशचन्द्र पोखरेललाई निमित्त आइजिपीको जिम्मेवारी दिएर नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान गरेका छन्। विगतमा प्राविधिक एआईजीलाई निमित्तको जिम्मेवारी दिइएको थिएन।
एआईजीलाइ छाडेर डिआइजीलाई निमित्तको जिम्मेवारी दिन नमिल्ने भएकाले एआईजी पोखरेललाई जिम्मेवारी दिइएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए। पोखरेल प्रहरी अस्पतालमा कार्यरत चिकित्सक हुन्।
अघिल्लो पटक प्रकाश अर्याल आइजिपी हुँदा प्रशासनतर्फ एआइजी नहुँदा उनले एआईजी पोखरेललाई नभइ डिआईजी बमबहादुर भण्डारीलाई निमित्तको जिम्मेवारी दिएका थिए। प्राविधिकलाई निमित्तको जिम्मेवारी दिइएकोमा संगठनभित्र असन्तुष्टि रहेको स्रोत बताउँछ। ‘आइजिपीको यस्तो शैलीले संगठनमा झन् गुटबन्दी बढाउँछ,’ मुख्यालयका एक अधिकारीले भने।
संयुक्त राष्ट्रसंघले आयोजना गरेको विश्वभरीका प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिन खनाल अमेरिका गएका हुन्। सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनाल पनि उनीसँगै अमेरिका गएका छन्।
दुवै जना असार ११ गते फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।