काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। आइतबार मध्यरातदेखि लागू हुनेगरी नेपाल आयल निगमले प्रतिलिटर पेट्रोलमा ३ र डिजेल तथा मट्टितेलमा २/२ रुपैयाँले मूल्य घटाएको हो।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य ११० पुगेको छ भने डिजेलको मूल्य ९३ रुपैयाँ कायम हुनेछ। तर यो मूल्य भने थानकोट डिपोदेखि १५ किलोमिटर वरपरको पम्पमा लागू हुनेछ। हाल पेट्रोलको प्रतिलिटर मू्ल्य ११३ छ भने डिजेलको मूल्य ९५ रहेको छ।
तर पोखरा र दाङमा भने पेट्रोल १०९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेलको मूल्य ९२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
झापा, विराटनगर, महेन्द्रनगर धनुषा, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी भने पेट्रोल १०८ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल प्रतिलिटर ९१ रुपैयाँ ५० पैसा तय गरिएको छ।
८ महिनापछि घट्यो मूल्य
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको छ। खासगरी अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण नेपालमा पनि पेट्रोलियमको मूल्यवृद्धि हुन्छ। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७३ अमेरिकी डलर पुगेको छ।
पेट्रोलियम पदार्थमा गत ८ महिनादेखि मूल्य बढिरहेको छ। गत कात्तिकमा ७४ रुपैयाँ प्रतिलिटर रहेको डिजेलको मूल्य त्यसयता घटेको छैन। पेट्रोलको मूल्य भने गत कात्तिकदेखि फागुनमा एकपटक मात्र घटेको अवस्थाबाहेक बढिरहेको छ। पछिल्लो पटक पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एकैपटक ३/३ रुपैयाँले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।