काठमाडौं- सुदूरपश्चिम सरोकार मञ्चका सदस्यहरुले उरई र टिंकर नाका खोल्न तथा सेती लोकमार्गको विकट उत्तरी खण्डमा सुरुङमार्ग निर्माणको पहल गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अनुरोध गरेका छन्।
मञ्चमा अध्यक्ष विष्णुबहादुर खत्रीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले भेटी ज्ञापनपत्र बुझाएर यस्तो माग राखेको हो। उक्त ज्ञापनपत्रमा टिंकर भन्ज्याङभन्दा उत्तरको अर्को नाका त्रिदेशीय सहमतिपछि मात्र खोल्न र पश्चिम सेती जलाशययुक्त उच्च बाँधलाई सिँचाइ सहितको बहुउद्देशीय परियोजनाको रुपमा निर्माण गर्न चीन सरकारसँग स्पष्ट धारणा राख्दै सहयोग जुटाउन समेत अनुरोध गरिएको छ।
मन्त्री ज्ञवालीले उत्तरी नाकाहरुको स्थितिबारे र सेती लोकमार्ग खुटिया दिपायल द्रुतमार्ग र पश्चिम सेती परियोजनाका बारे जिज्ञासा राख्दै सुदूरपश्चिम सरोकार मञ्चको मागहरुमा सकारात्मक सहयोग गर्ने विश्वास दिलाएका छन्।
प्रतिनिधि मण्डलमा मञ्चका सल्लाहकारत्रय मोतिलाल बोहरा, शिवराज श्रेष्ठ मल्ल, आरडी प्रभास चटौत र सचिव लक्ष्मी शाह, कार्यसमिति सदस्य राजेश्वरी सिंह लगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।