काठमाडौं– हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ विमोचन भएको छ। पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे गाउँहरुको सचित्र विवरण समेटिएको छ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, प्रकृतिप्रेमी समूहका संस्थापक डा उमेश श्रेष्ठ, समूहका अध्यक्ष रमेश चित्रकार, म्याप हाउसका निर्देशक पवन शाक्यले पुस्तक विमोचन गरे।
पुस्तकमा हाइकिङ गन्तव्यको चिनारी मात्रै होइन, हाइकिङ गर्ने तरिका समेत दिइएको छ। यो पुस्तक हाइकिङका साथै साइक्लिङ, बाइकिङ, ड्राइभिङ गर्नेहरुका लागि समेत उपयोगी हुने वक्ताहरुले बताए। ‘पुस्तक पर्यटन इतिहासमा एउटा ठूलो उपलब्ध हो’, पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि बोर्डका सिइओ जोशीले भने, ‘यो किताब आफन्त र इष्टमित्रलाई उपहार दिनसमेत उपयोगी छ।’
पुस्तक लेखक रामदेवी प्रकृतिप्रेमी समूहकी सदस्य हुन्। समूहले ०६३ सालदेखि हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। उसले वर्षमा दुई पटक लामो दुरीको पदयात्रा पनि गराउँछ।
लेखक महर्जनले स्वस्थ पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन पुस्तक लेखेको बताइन्। कार्यक्रममा समूहका संस्थापक डा उमेश श्रेष्ठ, अध्यक्ष रमेश चित्रकार, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र पत्रकार अमृत भादगाउँलेले ‘हाइकिङ काठमाडौं’ पर्यटन इतिहासमा कोशेढुंगा भएको टिप्पणी गरे।
प्रकाशक म्याप हाउसले पुस्तकको अंग्रेजी संस्करण पनि प्रकाशन गर्ने घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।