काठमाडौं- राष्ट्रियसभा सदस्यको पदावधि छान्नका लागि सोमबार गोलाप्रथा गरिने भएको छ। संघीय संसद सचिवालयले आइतबार पत्रकार सम्मेलन गरी गोलाप्रथाको कार्यक्रमबारे जानकारी गराएको हो।
राष्ट्रियसभा सदस्यको कार्यकाल २, ४ वा ६ वर्षको हुने भन्ने संविधानले गरेको व्यवस्था अनुसार पदावधि तय गर्नका लागि गोलाप्रथा गर्न लागिएको हो। त्यसका लागि संघीय संसद सचिवालयले महासचिवको संयोजकत्वमा गोलाप्रथा सञ्चालन मूल समिति नै गठन गरेको छ। गोलाप्रथामा राष्ट्रियसभा सदस्य आफै उपस्थित हुनुपर्नेछ। उपस्थित हुन नसके अख्तियारी प्राप्त व्यक्ति वा त्यसो पनि हुन नसके महासचिवले तोकेको व्यक्तिले अनुपस्थित सदस्यको तर्फबाट गोला थुत्नेछन्।
गोलाप्रथालाई पूर्ण विश्वनीय बनाउन सचिवालयको कार्यविधि नै तय गरेको छ। कार्यविधि अनुसार पारदर्शी बट्टामा २ वर्ष, ४ वर्ष र ६ वर्ष लेखिएको गोला राखिनेछ। सबैभन्दा पहिला ७ वटै प्रदेशका महिला सांसदहरुले क्रमशः गोला तान्नेछन्। बट्टामा राखिएको गोला वर्णानुक्रम अनुसार सांसदहरुलाई बोलाएर टिपाउने व्यवस्था गरिएको पनि गोलाप्रथा सञ्चालन मूल समितिका सदस्य सचिव दशरथ धमलाले जानकारी दिए। सांसदले टिपेको गोला संसद सचिवालयका महासचिव वा उनले तोकेको प्रतिनिधिले खोलेर देखाउने व्यवस्था पनि गरिएको छ।
प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये १ जनाको २ वर्ष, एक जनाको ४ वर्ष र एक जनाको ६ वर्ष पदावधि हुनेगरी गोलाप्रथा बाट टुंगो लगाइनेछ। महिलापछि सातै प्रदेशबाट दलित तथा अल्पसंख्यक एवम अपांग सांसदहरुले गोला तान्ने व्यवस्था मिलाइएको छ।
अन्य खुलाबाट निर्वाचित सबै प्रदेशका २१ सांसद र राष्ट्रपतिबाट मनोनित ३ जनाले पनि गोला तानेर आफ्नो पदावधि आफैं निर्धारण गर्नेछन्। गोलाप्रथाबाट सांसदको निर्वाचन हुँदा निर्वाचन आयोग र कानुन मन्त्रालयका प्रतिनिधि पनि रहने व्यवस्था गरिएको संघीय संसद सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।