काठमाडौं– सत्तारुढ दलकै सांसदले सरकार नीति र विधिसम्मत् चल्न नसेको भन्दै आक्रोश पोखेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विभिन्न मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलमा सहभागी नेकपाका सांसद दुर्गा बहादुर रावतले सरकार नीति, विधि र थिति अनुसार नचलेको भन्दै आपत्ती जनाएका हुन्।
कालिकोटका सांसद रावतले कर्णालीबासीलाई सरकारले उपेक्षा गरेको आरोप पनि लगाए। उनले सरकारको कार्यशैलीको विरोध भइरहेको बताउँदै आफ्नै पार्टीका सांसदहरुलाई प्रश्न गरे,‘सर्वत्र सरकारको विरोध छ। यो सरकार कसको हो? हाम्रो पार्टीका नेताहरुले किन समर्थन गरेका हुन्? सरकार र मन्त्रीलाई किन अहिलेसम्म काखमा च्यापिरहेका छन्?’
सांसद रावतले कम्युनिष्ट पार्टीको सिद्धान्त अनुसार सरकार चल्न नसकेको आरोप लगाए। उनले हालको विनियोजन बजेटले भोट हालेर जिताएका जनतासामु फिर्ता भएर जाने बाटो नबनाएको अाराेप लगाए।
आफुले प्रतिनिधित्व गरेको जिल्ला कालिकोट खानेपानी मन्त्रालयको एक योजना बाहेक अन्य कुनै पनि मन्त्रालयको बजेटमा नपरेको बताउँदै उनले भने,‘बरु कालिकोटसम्म पुग्ने भाडाको व्यवस्था म गरिदिनेछु, तपाईंले तयार गरेको बजेटको किताब हेर्न बरु चस्माको व्यवस्था गरिदिनेछु तर कालिकोटमा पुगिदिनुहोला।’
आफु अपांग रहेको र कहिल्यै भारी नबोकेको बताउँदै उनले सरकारको बजेट सरकारलाई नै फिर्ता गरेको घोषणा गरेका थिए।
बिहीबारको बैठकमा सत्तारुढ दलकै सांसदले आफ्ना क्षेत्र र जिल्लामा मात्रै योजना र बजेट पारेको भन्दै सरकारमा सामेल मन्त्रीहरुको चर्को आलोचना गरेपछि शनिबार संसदीय दलको बैठक बोलाएर नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्रीले जथाभाबी अभिव्यक्ति नदिन सांसदहरुलाई निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।