काठमाडौं– सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिएको छ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिका भट्टले भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिइएको जानकारी दिए।
उनले अनुमति पाएका सबै उद्योगहरुलाई एक हप्ता भित्र उद्योग दर्ता गर्न र २ हप्ता भित्रमा उद्योग निर्माणको काम सुरु गरिसक्ने गरी अनुमति दिइएको जानकारी दिए। प्राधिकरणका कार्यकारी निर्देशक भट्टले एक वर्ष भित्र स्थापना गरिएका उद्योगहरुबाट उत्पादन सुरु हुने गरी कामलाई अघि बढाउने पनि स्पष्ट पारे।
सरकारले आगामी आर्थिक वर्षमा भैरहवा विशेष आर्थिक क्षेत्रका लागि ८ अरव रुपैयाँ बजेटको व्यवस्था गरेको छ। सरकारले सो क्षेत्रबाट तत्कालका लागि ५ हजार २ सय रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ।
आइतबार प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक भट्टले उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई पनि दूू्रत गतिका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै उद्योगी, व्यवसायीहरुले भने भैरहवा विशेष आर्थिक क्षेत्रमा फूड र प्लाष्टिक उद्योग स्थापना गर्न सरकारलाई सुझाव दिएका छन्। अन्य ठूला उद्योग स्थापनाका लागि ठाउँको समेत अभाव हुने भएकाले भैरहवा विशेष आर्थिक क्षेत्रमा फुड र प्लाष्टिकको उद्योग स्थापनाका लागि उपयुक्त हुने नेपाल उद्योग परिसंघका अध्यक्ष डा हरिभक्त शर्माले सुझाए। उनले ठूला उद्योग स्थापनाका लागि औद्योगिक क्षेत्र स्थापनाको कामलाई बढावा दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले उद्योग स्थापनाका लागि पूर्वाधारको विकासमा विशेष जोड दिन सरकारलाई आग्रह गरे। श्रेष्ठले उद्योग स्थापनाका लागि अब विद्युतको अभाव नहुने विश्वास पनि व्यक्त गरे।
पूर्व अध्यक्ष श्रेष्ठले पूर्वाधारको अभावमा नेपालको उद्योग, व्यवसाय फष्टाउन नसकेको दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।