काठमाडौं– सुन तस्करी तथा सनम शाक्य हत्याको थप अनुसन्धानका लागि सरकारले गठन गरेको बिशेष अनुसन्धान टोलीले थप एक महिनाको म्याद पाएको छ। सहसचिव ईश्वरराज पौडेल अध्यक्षताको टोलीको म्याद असार मसान्तसम्मका लागि थप भएको हो।
संगठित अपराध नियन्त्रण ऐनअनुसार सरकारले साढे २ महिनाअघि टोली गठन गरेको थियो। संगठित अपराध नियन्त्रण ऐनअनुसार यस्तो किमिसको टोली गठन भएको नेपालमा पहिलो पटक हो।
सुरुमा डेढ महिनाको अवधि दिएर टोली गठन भएकोमा पछि एक महिना थप भएको थियो। जेठ मसान्तमा म्याद थप भएपनि गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले दोस्रो पटक म्याद थप गरेको हो।
टोलीले ५ वर्षदेखि विमानस्थलबाट हुँदै आएको सुन तस्करीको पर्दाफास गर्नुका साथै त्यसमा संलग्न ३० भन्दा धेरैलाई पक्राउ गरिसकेको छ। तस्करीमा संलग्न ९ जना प्रहरी अधिकारी समेत पक्राउ परिसकेका छन्।
गिरोहका थप नाइकेहरु खोज्ने काम भइरहेको टोलीका संयोजक सहसचिव पौडेल बताउँछन्।
समितिमा राष्ट्रिय अनुसन्धान विभागका डिआइजी हुतराज पाण्डे, नेपाल प्रहरीका एसएसपी बसन्त लामा, डिएसपी सुदीप पाठक र भिष्म हुमागाई लगायत सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।