काठमाडौं– वीर अस्पतालमै अनसन बसेकी गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै मानव अधिकारकर्मीहरुले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन्।
गोरखा फुजेलकी अधिकारी आफ्ना छोरा कृष्ण अधिकारीको हत्यारालाई सजायको माग गर्दै विगत १९ दिनदेखि वीर अस्पतालमा अनसनरत छिन्। उनका पति नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा गत साल मृत्यु भएको थियो।
गंगामायाको बिग्रदोँ स्वास्थ्य स्थितिको ख्याल गर्दै उनका माग तत्काल सम्बोधन गर्न दबाव दिन द्वन्द्वपीडित र अधिकारकर्मीले बिहान १० बजे प्रधानमन्त्री निवासअघि धर्ना दिएका हुन्। सर्वोच्च अदालतको फैसला कार्यान्वयन र गंगामायाको जिवन रक्षाको माग गर्दै उनीहरुले धर्ना दिएका हुन्।
केही दिन अघि मानवअधिकार आयोगले पनि सर्वोच्चको फैसला अनुसार पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएका व्यक्तिलाई पक्राउ गरि मुद्दा अघि बढाउन प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो।
सर्वोच्चले २०७२ पुस ६ गते धरौटीमा छाड्ने तत्कालीन पुनरावेदन अदालत हेटौंडाको आदेश उल्टयाउँदै पौडेललाई पक्राउ गरी थुनामा राख्न भनेको थियो। तर उक्त आदेश भएको करिब साढे २ वर्ष पूरा हुँदासमेत उनी पक्राउ नपरेपछि जेठ १५ गतेदेखि गंगामायाले वीर अस्पतालमा अनसन थालेकी हुन्।
अनसनको १९ दिन पुगिसक्दा समेत सरकारले सुनुवाइ नगरेको भन्दै मानव अधिकारकर्मीले धर्ना दिएका हुन्। अधिकारीको जीवनरक्षा गर्दै आरोपित व्यक्तिहरुलाई कानुनी कारबाही गर्ने सम्बन्धमा भएको प्रगतिबारे जानकारी गराउन पनि आयोगले भनेको छ। आयोगले त्यसको सम्पूर्ण विवरण तीन दिनभित्र उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई समेत पत्र लेखेको थियो।
द्वन्द्वकालमा मामाघर चितवन आएको समयमा कृष्ण अधिकारीको अपहरण गरी तत्कालीन विद्रोही माओवादीले हत्या गरेको थियो। हत्यासम्बन्धी मुद्दा चितवन जिल्ला अदालतमा चलिरहेको छ। किटानी जाहेरीमा रहेका व्यक्तिहरु धरौटीमा छुटे लगत्तै अधिकारी दम्पत्ती धर्नामा बसेका थिए।
(तस्बिर : निमेष जंग राई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।