समूह एफ
जर्मनी भर्सेस मेक्सिको
समय : असार ३, बेलुकी ८ः४५ बजे
मस्काे- साविक विजेता जर्मनीको टिममा अहिले धेरै परिवर्तन आइरहेको छ। सन् २०१४ को विश्वकप जितेका अनुभवी खेलाडीहरु टिममा छैनन्। यस्तै सन् २०१४ को फाइनलमा अर्जेन्टिना विरुद्ध निर्णायक गोल गरेका मारियो गोट्जेले विश्वकप टिममा स्थान बनाउन सकेनन्।
परिवर्तित जर्मन टिममा दुई वटा कुरा मात्र स्थिर छन्, ती हुन् प्रशिक्षक जोमिच लो र टिमको सफलता। विश्वकप छनोटमा उत्कृष्ट खेलेको जर्मनीले सवै १० खेल जित्दा ४३ गोल गरेको थियो।छनोटमा उसले केवल ४ गोलमात्र खायो। जर्मनीले एक वर्षअघि रसियामै भएको फिफा कन्फेडेरेसन कप पनि जितेको थियो। त्यसलै प्रशिक्षक लोसँगको सम्झौता २०२० सम्मको लागि बढाइएको थियो।
उता सन् २०१५ मा मेक्सिकोको प्रशिक्षकमा नियुक्त भएका जुवान कोर्लोस असोरियोले टिममा व्यापक सुधार गरेका छन्। यद्यपी मेक्सिको कन्फेडेरेसन कपमा भने सेमिफाइनलमा पराजित हुन पुगेको थियो। तर विश्वकप छनोटमा मेक्सिकोको प्रदर्शन भने उच्च रह्यो। उसले १६ मध्ये १ खेलमा मात्र हार बेहोर्दै रसियाको टिकट पक्का गरेको थियो।
जर्मनीका लागि मेक्सिको समूह चरणको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो। त्यसैले पहिलो खेलमा जर्मनी सचेत भएर खेल्नेछ। प्रशिक्षक लोका लागि पहिलो रोजार्इको टिममा राख्ने खेलाडीबारे निर्णय गर्नु कठिन हुनेछ। मेसुट ओजिल, जुलियन ड्राक्सलर र मार्को रेउस मध्ये २ जना मात्र पहिलो रोजाइमा पर्नेछन्।
जर्मनीले सन् २०१४ को विश्वकपमा पहिलो खेलमा पोर्चुगललाई ४–० गोलले पराजित गरेको थियो। त्यस्तै नजिता २०१८ को विश्वकपमा निकाल्न भने जर्मनीलाई कडा परिश्रम गर्नुपर्ने देखिन्छ।
मेक्सिकोलाई जर्मनीको तुलनामा आफू खेलको बलियो टिम होइन भन्ने थाहा छ, तर उत्कृष्ट खेलेर विश्वकपमा राम्रो सुरुवात गर्न भने उसले कुनै कसर बाँकी राख्ने छैन। मेक्सिकोले पहिलो खेलमा बराबरी खेले उसका लागि उपलब्धि हुनेछ। पछिल्लो पटक जर्मनी विरुद्धको खेल मेक्सिकोले ४–१ ले गुमाएको थियो।
सम्भावित टिम
जर्मनी : म्यानुयल नेउर, जोसाउ किम्मिच, जेरोम बेएटिङ, मार्टस् हुमेल्स, जोनास हेक्टर, सामी खेडिरा,, टोनी क्रुस, थोमस मुलर, मेसुट ओजिल, मोर्को रेउस, टिमो वेर्नर
मेक्सिको : गुइलेर्मो ओएचा, कार्लोस साल्सेडो, हुगो अयाला, हेक्टर मोरेनो, मियुइल लयुम, हेक्टर हेरेरा, आन्द्रेस गुएर्डाडो, कार्लोस भेला, जेसस कोरोना, जाभियर हर्नान्डेज, हिर्भिङ लाजानो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।